काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा सहभागी हुन काठमाडौं आएका भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाली नेताहरुसँग असन्तुष्टी पोखेका छन् । संयुक्त आयोगको बैठकमा सहभागी हुन आएकै दिन चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का युनान प्रान्त डेपुटी सेक्रेटरी सी युगाङसहितको टोलीलाई भ्रमणमा निम्तो गरेकोमा एस जयशंकर नेपाली नेताहरुसँग रिसाएका हुन् ।
नेपाली नेताहरुको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का युनान प्रान्त डेपुटी सेक्रेटरी सी युगाङ चार दिने नेपाल भ्रमणमा आएका हुन् । यद्यपी उनीहरुको भ्रमणको विषयमा भने नेपालस्थित चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयले भने औपचारिक रुपमा कुनै सूचना बाहिर ल्याएका छैनन् ।
आफू नेपाल आएकै समयमा चीनको प्रतिनिधिलाई निमन्त्रणा गरिएकोमा भारतीय विदेशमन्त्रीले खुलेरै रोष व्यक्त गरेको परराष्ट्रका एक अधिकारीले बताए । 'शुरुमा नेपाली नेताहरुसँग प्रश्न गरेका थिए पछि कतिपय कार्यक्रममा आफू सहभागी हुन नसक्ने जानकारी गराए' ति अधिकारीले भने,'परराष्ट्रमन्त्री एन पी साउदले उहाँहरुको भ्रमण संयोग मात्रै भएको भनेपछि मात्रै जयशंकर बैठकमा सहभागी हुन तयार भए ।' चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुलाई आफू आउने समयमा नेपालमा निमन्त्रणा गरिएको जानकारी शुरुमा भएको भए भारतीय विदेशमन्त्री एस जयशंकर नआउने पनि सक्थे । तर, काठमाडौं ओर्लिएपछि मात्रै जानकारी भएपछि जयशंकरलाई बैठकमा सहभागी हुन नैतिक संकट भयो ।
त्यसो त २०७२ मा नेपालको संविधानसभाले दफा–दफा गर्दै संविधान पारित गरिसकेपछि भारतका तत्कालीन विदेश सचिव जयशंकर प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा काठमाडौं आएका थिए । तत्काल संविधान जारी नगर्न गरेको आग्रह अस्वीकार गरेको भन्दै उनले नेपाली नेताहरूसँग वादविवाद गरेका थिए । यसपालि विदेशमन्त्रीका रूपमा आएका बेला पनि उनले चिनियाँ नेताको भ्रमणको विषयलाई आफ्नो ‘प्रतिष्ठा’ को विषय बनाए । शरुमा आयोगको बैठकमा सहभागी भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा पनि एस जयशंकरले चिनियाँ नेताहरुलाई आफू आएकै समयमा बोलाएकोमा असन्तुष्ट पोखे।