काठमाडौं । पश्चिम एसियामा जारी संघर्ष दिनप्रतिदिन भयावह बन्दै गएको छ । मिसाइल र ड्रोनको गर्जनबीच यो संघर्ष २१औँ दिनमा प्रवेश गरिसकेको छ ।
यही उग्र परिस्थितिबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले एकैसाथ धेरै प्रश्नहरूको जवाफ दिएका छन् । पत्रकार सम्मेलनको सुरुवातमै नेतन्याहूले भने, “म अझै जीवितै छु । तपाईंहरू सबै यो कुराको प्रमाण हुनुहुन्छ ।” यसअघि नेतन्याहू मारिएको भन्दै धेरै दाबीहरू भइरहेका थिए ।
यस क्रममा नेतन्याहूले इरानको परमाणु क्षमतालाई लिएर टिप्पणी गर्दै अमेरिका र इजरायलको २० दिनको हवाई आक्रमणपछि इरानसँग अब युरेनियम संवर्द्धन गर्ने वा ब्यालिस्टिक मिसाइल बनाउने क्षमता बाँकी नरहेको बताए । उनले अब इरानले परमाणु हतियार बनाउन नसक्ने पनि बताए । साथै, इरानको मिसाइल र ड्रोन भण्डारले भारी नोक्सानी बेहोरिरहेको र चाँडै पूर्ण रूपमा नष्ट हुने दाबी गरे ।
नेतन्याहूले भने, “हामी जितिरहेका छौँ र इरान नराम्ररी क्षतिग्रस्त भइरहेको छ । हामी अहिले ती कारखानाहरू नष्ट गर्दै छौँ, जसले यी मिसाइल र परमाणु हतियारका पार्टपूर्जाहरू तयार गर्छन् ।”
यद्यपि, नेतन्याहूले आफ्ना यी बयान र दाबीका लागि कुनै पनि ठोस प्रमाण भने प्रस्तुत गरेका थिएनन् । उनले युद्धमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भूमिकाबारे विस्तृत रूपमा कुरा गर्दै आफूले ट्रम्पलाई यो युद्धमा नधकेलेको र ट्रम्पले आफ्नो निर्णय आफैँ लिएको दाबी गरे ।
उनले यो युद्धमा अमेरिका इजरायलका लागि नभई इजरायलसँगै युद्ध लडिरहेको पनि बताए । पत्रकारहरूसँग नेतन्याहूले इरानविरुद्ध चलाइएको इजरायली अपरेसन ‘राइजिङ लायन’को लक्ष्यमा जोड दिँदै ट्रम्पको नेतृत्वमा अमेरिका र इजरायल इरानमाथि पूर्ण शक्ति र संकल्पका साथ कारबाही गरिरहेका बताए ।
‘अपरेसन राइजिङ लायन’को उद्देश्य आयातोल्लाह शासनको खतरालाई अन्त्य गर्नु रहेको, जसले विगत ४७ वर्षदेखि अमेरिका, इजरायल र इरानका जनताविरुद्ध युद्ध छेडेको उनको भनाइ छ ।
नेतन्याहूले होर्मुज जलमार्गबारे इरानलाई लक्षित गर्दै भने, “इरानी शासनले होर्मुज जलमार्ग बन्द गरेर विश्वलाई ब्ल्याकमेल गर्ने कोसिस गरिरहेको छ,” उनले भने, “तर, यो सफल हुने छैन । इजरायल आफ्नो तर्फबाट र अमेरिकी प्रयासहरूसँग मिलेर यो जलसन्धि खुला राख्न मद्दत गरिरहेको छ ।”
यदि, आयातोल्लाहसँग परमाणु हतियारयुक्त मिसाइल रहेको भए उनीहरूले पूरै विश्वलाई ब्ल्याकमेल गर्न सक्ने उनको भनाइ छ । द हिन्दुबाट