काठमाडौं । सर्लाहीको बरहथवामा ५० शैया अस्पतालको विषयमा विवाद हुँदा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएपछि स्थिती तनाबग्रस्त बनेपछि सर्लाही प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
बरहथवा नगरपालिका-६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यू लगाएको बताएका छन् । उनका अनुसार बेलुका ५:३० बजेदेखि भोलि बिहान ८ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो ।
अस्पतालको विषयलाई लिएर स्थानीयहरूले नगरप्रमुख कल्पना कटुवालको घरमै आजगनी गर्न लागेपछि प्रहरीले गोली चलाएको जनाएको छ । प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार मेयरको घरअगाडि राखिएको एउटा गाडीमा आगजनी भएको छ ।