काठमाडौं । वीर अस्पतालले एक महिनासम्म महिलाको नि:शुल्क क्यान्सर परीक्षण गर्ने भएको छ ।
काठमाडौै महानगरपालिकाले अस्पतालसँगको सहकार्यमा आजदेखि वैशाख २० सम्म महिलाहरूको नि:शुल्क क्यान्सर परीक्षण गर्ने भएको हो ।
देशभरका महिलाका लागि यो सुविधा उपलब्ध रहेको वीर अस्पतालले जनाएको छ । क्यान्सर परीक्षणका लागि महानगरका ३२ वटा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट प्रेषण पुर्जी अनिवार्य गरिएको छ । पाठेघर, स्तन तथा सर्भाइकल क्यान्सरको परीक्षण नि:शुल्क हुने भएको हो ।
महानगरसँगको सम्झौतापछि अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दिलिप शर्माले महिलाले पटकपटक क्यान्सर परीक्षण गराउनुपर्ने बताए । क्यान्सर लाग्दै त्रसित हुनुनपर्ने उनको भनाइ छ । ''जाँच गरेर समयमै पहिचान भएर उपचार सरल र कम खर्चिलो हुन्छ । जीवन बचाउन सकिन्छ,'' उनले भने ।
महानगरले क्यान्सर परीक्षणका लागि अस्पताललाई एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ ।-रासस