काठमाडौं । युक्रेन इरान युद्धमा ड्रोन प्रविधिको प्रभावकारिता देखिएको छ । सैन्य विज्ञहरूले युक्रेन -रुस युद्ध र अमेरिका- इजरायलले इरानसँग गरेको युद्धमा ड्रोनको प्रभावकारिता देखिएको बताएका हुन् ।
युद्ध अब धैर्य र सामरिक रणनीतिको खेल मात्रै नरहेको विज्ञहरूको भनाइ छ । उनीहरूका अनुसार आउने समयमा युद्ध प्राविधिक प्रदर्शनको दौड बन्दै छ ।
ठूला र धेरै बजेटका हतियारले भन्दा प्राविधिक रूपमा कुशल साना हतियारले बढी सनसनी मच्याउने छन् । त्यसको उदाहरण इरान बनिसकेको छ ।
एकातिर अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्प आफ्नो सेनालाई विश्वकै सबैभन्दा महान्, सक्षम र शक्तिशाली सेना भनेर प्रस्तुत गरिरहेका छन् भने अर्कोतिर इरानका ‘कमिलाजस्ता’ ड्रोनले उनका 'स्टेल्थ फाइटर' जेटलाई हायलकायल बनाइरहेको छ ।
विगतका केही दिनमा इरानको आकाशमा अमेरिकाको फाइटर जेट खसालियो । अर्को एक फाइटर जेटसँग इरानको ड्रोनले ‘डग फाइट’ गर्यो र त्यसलाई पनि खसालिदियो ।
बेजोड इन्जिनियरिङको नमुनाका प्रतिरक्षा प्रणालीविरुद्ध पनि इरानी सस्ता ड्रोनले सफलता हात पारिरहेको छ ।
हालैका दिनमा युद्ध मैदानमा हात्तीलाई कमिलाले तर्साउन थालेझैँ देखिएको विश्लेषण भइरहेको छ । युक्रेनले सशक्त प्रतिद्वन्द्वी रुसमाथि पहिले यो तरिका सुरु गरेको थियो ।
युक्रेनका साना तर शक्तिशाली प्रविधिको सामनाका लागि रुसले ड्रोनमा इरासनसँग निर्भरता बढाउनुपरेको थियो । युक्रेनका पोर्टेबल क्षेप्यास्त्रले रुसलाई हायलकायल बनाएसँगै इरानी प्रविधिसँग रुस निर्भर हुनुपरेको थियो ।
युक्रेनका एफपीभी ड्रोनहरूले ४.५ करोड डलरका रुसी क्षेप्यास्त्रलाई फितलो बनाइदिएका थिए । लाखौँ डलरका ट्यांक क्षणभरमै ध्वस्त भएका थिए । २० किलोमिटर दुरीसम्म हमला गर्नसक्ने युुक्रेनी ड्रोनले रुसलाई धेरै अप्ठ्यारो बनाएको थियो ।
युक्रेनले 'एर्गोनोमिक असल्ट' राइफल र लामो दूरीका 'स्नाइपर' राइफलहरूबाट रुसलाई सकसमा पार्यो ।
पश्चिम एसियाको कुरा गर्दा अमेरिकाका दुई ठूला युएसएस फोर्ड र लिंकन जस्ता युद्धपोतमाथि विश्वको नजर थियो ।
यसबाहेक प्याट्रियटदेखि थाड, इजरायलको आइरन डोमदेखि अन्य धेरै प्रति सबैको चासो थियो । जसमा एफ–३५ लाइटनिङजस्ता पाँचौँ पुस्ताका लडाकु विमान, टोमहक मिसाइल, बंकर बस्टर बम, इजरायलको स्प्यारो मिसाइल र अन्त्यमा समुद्रमुनिबाटै विनास मच्चाउने खतरनाक हतियारहरू थिए ।
विश्वभरका रणनीतिक तथा सामरिक विज्ञहरूले यी हतियारकासामु इरानको जोर नचल्ने लख काटेका थिए ।
गत २८ फेब्रुअरीमा अमेरिका र इजरायलको संयुक्त सैन्य अभियानमा इरानको शीर्ष नेतृत्व मारिएसँगै इरानले घुँडा टेक्ने अड्कलबाजी भइरहेका थिए । युद्धको ३५ दिन बितिसक्दा पनि इरान अझै लडिरहेको छ । इरानको सशक्त प्रतिवाद र युद्ध रणनीतिबाट विश्वका धेरै मुलुक हायलकायल भइरहेका छन् ।
इरानले अहिलेसम्म ५८० ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरिसकेको छ । १३ सय ८० ड्रोनबाट उसले हमला जारी राखेको छ ।
३० हजार डलरका उक्त ड्रोनलाई खसाल्न अमेरिका र इजरायलले लाखौँका क्षेप्यास्त्र प्रहार गर्नुपरेको छ । शाहेद ड्रोनले लक्ष्य खोज्छ र त्यसमा ठोक्किएर विस्फोट गराउँछ । यसका रुट पहिल्याउन पनि सकिँदैन ।
इरानसँग भएको मोहाजेर ड्रोनले दुई हजार किलोमिटर परसम्म प्रहार गर्छ । यसको उडान क्षमता २४ घण्टाको छ भने तीन सय किलोग्राम विस्फोटक यसले बोक्न सक्छ । ड्रोनबाहेक इरानसँग ध्वनिको गतिमा तेज यात्रा गर्नसक्ने क्षमताका ब्यालेस्टिक मिसाइल पनि छन् ।
इरानसँगको युद्धमा अमेरिकाले दैनिक १ अर्ब डलरभन्दा बढी खर्च गरिरहेको छ । यो युद्धमा हालसम्म ३६ अर्ब डलर खर्च भएको अनुमान छ । इजरायलको पनि दैनिक करिब ३०० मिलियन डलर बराबर खर्च भइरहेको छ । २०२३ अक्टोबर यता मात्रै इजरायलले युद्धमा ११५ अर्ब डलरभन्दा बढी रकम खर्चिएको छ ।
ठूला र खर्चिला हतियारविरुद्ध साना र कम खर्चिला हतियार सफल भएसँगै शक्तिशाली राष्ट्रहरूले हतियारको प्रविधिमा लगानी बढाउन थालेका छन् । यतिबेला रुस ठूला हतियारको सट्टा साना प्रभावकारी हतियार प्रविधिको विकासमा केन्द्रित भएको छ ।
विभिन्न एजेन्सीका विवरणमा आधारित