काठमाडौं । मोबाइलमा आएको एउटा शङ्कास्पद लिंकमा क्लिक गर्दा एक व्यक्तिको बैंक खाताबाट २५ लाख रुपैयाँ चोरी भएको पाइएको छ । पीडित सुजन खनालले दिएको उजुरीको आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले गरेको अनुसन्धान गरेको थियो ।
प्रहरीको अनुसन्धानमा खनालको बैंक खाताबाट २५ लाख ४४ हजार १०० रुपैयाँ अनधिकृत रूपमा विभिन्न बैंक खातामा ट्रान्सफर भएको भेटिएको थियो । ब्युरोले अनुसन्धान गरी काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा दायर गरेको अभियोगित्रमा बैंक खाता ह्याक गर्ने कार्यमा सलग्न सप्तरी डाक्नेश्वरी नगरपालिकाका २० वर्षीय आकाशकुमार पासवान र सिरहा लहानका २३ वर्षीय चन्देश्वर महतोलाई फरार प्रतिवादी कायम गरेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिमको ठगी कसुरमा सजाय मागदाबी गर्दै अभियोग पत्र दायर गरेको हो । उक्त कसुरमा सोही संहिताको दफा २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी व्यवस्था छ ।
साथै, फरार रहेका दुवै अभियुक्तलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ बमोजिम पक्राउ पुर्जी जारी गर्न र कसुरदारबाट पीडितलाई क्षतिपूर्ति दिलाउन अदालत समक्ष अनुरोध गरिएको छ ।
कसरी भयो ह्याक ?
पीडितले दिएको बयान अनुसार २९ जेठ, २०८२ का दिन दिउँसो करिब ४:१५ बजे सुजन खनालको मोबाइल नम्बरमा THE_ALERT नामबाट एउटा मेसेज आयो । मेसेजमा Your Connect IPS Linked accounts have been Suspended due to Security Concerns. Please Complete the self-verify process https://rb.gy/o4u15m to regain access लेखिएको थियो ।
कनेक्ट आईपीएससँग मिल्दोजुल्दो लिंकसहितको उक्त मेसेजलाई आधिकारिक ठानेर खनालले लिंकमा क्लिक गरे र केही बैंकिङ विवरण भरे । तर पछि शङ्का लागेर उनले विवरण भर्ने प्रक्रिया रद्द गरेका थिए । यति गर्दागर्दै पनि योजनाबद्ध रूपमा बसेका ह्याकरहरूले उनको कनेक्ट आईपीएसको पहुँच लिएका थिए ।
पीडित खनाल राति सुतेको र मोबाइल बन्द रहेको अवस्थामा प्रतिवादीहरूले उनको राष्ट्रिय वाणिज्य बैंक र नबिल बैंकको खाताबाट रकम चोरेका थिए । अभियोग पत्रअनुसार ३० जेठमा खनालको राष्ट्रिय वाणिज्य बैंकको खाताबाट प्रतिवादी आकाशकुमार पासवानको नेपाल एसबीआई बैंकको खातामा सुरुमा परीक्षणका लागि १०० रुपैयाँ र पछि १० लाख ३० हजार रुपैयाँ ट्रान्सफर गरियो ।
सोही दिन खनालको नबिल बैंकको खाताबाट पुनः १ लाख ४४ हजार रुपैयाँ पासवानकै खातामा पठाइयो । यसरी आकाशको खातामा मात्रै ११ लाख ७४ हजार १०० रुपैयाँ जम्मा गएको थियो ।
त्यसको भोलिपल्ट ३१ जेठको बिहान खनालको राष्ट्रिय वाणिज्य बैंकको खाताबाट अर्का प्रतिवादी चन्देश्वर महतोको नाममा रहेको लक्ष्मी सनराइज बैंकको खातामा १३ लाख ७० हजार रुपैयाँ ट्रान्सफर गरियो । बिहान उठेर मोबाइल खोल्दा मात्र पीडितले आफ्नो खाताबाट कूल २५ लाख ४४ हजार १०० रुपैयाँ गायब भएको पत्तो पाएका थिए । यो घटनाका बारेमा पीडितका साथीहरू ज्ञान कुमार श्रेष्ठ र अभिषेक कार्कीले समेत प्रहरीमा घटना विवरण कागज गराएका छन् ।