बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • रातो पासपोर्ट दुरुपयोगमा संविधानसभाका तीन सदस्यलाई जेल सजाय


    हुलाक प्रेस

    • मंगलबार, असार ३० २०८३०७:१०
    रातो पासपोर्ट दुरुपयोगमा संविधानसभाका तीन सदस्यलाई जेल सजाय

    काठमाडौं । उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोग र कीर्ते कागजसम्बन्धी मुद्दामा संविधानसभाका तीन सदस्यलाई जेल सजाय र जरिवाना हुने फैसला सुनाएको छ । काठमाडौँ जिल्ला अदालतको फैसलालाई उच्च अदालत पाटनले सदर हुने फैसला सुनाएको हो ।

    गत असार २३ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र गोपालप्रसाद बास्तोलाको संयुक्त इजलासबाट संविधानसभा सदस्य गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादव राहदानी ऐनविपरीतको कसुरमा दोषी ठहर हुने जिल्लाको फैसला सदर गरेको छ । फैसलाको पूर्ण पाठ भने आउन बाँकी छ ।

    काठमाडौं जिल्ला अदालतले ०७१ साल जेठ २१ गते तत्कालीन संविधानसभा सदस्य गायत्री साह, विश्वनाथप्रसाद यादव र शिवपुजन राय यादवलाई  जनही पाँच महिना कैद र ५०० रुपैयाँ जरिबानाको फैसला सुनाइएको थियो ।

    यो मुद्दामा बिचौलियाको अभियोग लगाइएका डिलबहादुर घर्ती, गोपाल बानियाँँ, मनोजकुमार कार्की, देवेन्द्र पौडेल र सन्तोषराज उप्रेतीलाई पनि कीर्ते कागज कसुरमा दोषी ठहर गरिएको छ । उनीहरूलाई जनही एक वर्ष कैद र पाँच लाख ५४ हजार रुपैयाँ जरिबाना तोकिएको छ ।

    जिल्ला अदालतले नक्कली राहदानी प्रयोग गरी अस्ट्रेलिया जान खोजेका म्याग्दीका पृथ्वी छन्त्याललाई एक वर्ष कैद र ५०० रुपैयाँ जरिबानाको सजाय सुनाएको थियो । गायत्री, विश्वनाथप्रसाद र शिवपुजनले संविधानसभा सदस्यको हैसियतमा प्रदान गरिएको विशिष्ट कूटनीतिक राहदानी आर्थिक लाभका निम्ति बिचौलियालाई बिक्री गरेको प्रहरीको आरोप थियो । उनीहरू ०६४ सालको संविधानसभा सदस्य हुन् ।


    प्रतिक्रिया दिनुहोस