काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्व सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईले अब करिब साढे दुई महिना मात्र जेल सजाय भोग्नुपर्ने भएको छ। काठमाडौँ जिल्ला अदालतले उनलाई 'एकीकृत कसूर' बापत कुल ४ वर्ष कैद सजाय सुनाए पनि ज्येष्ठ नागरिकको सुविधाका कारण उनको जेल बसाई छोटिएको हो ।
अदालतको फैसला अनुसार ७५ वर्ष उमेर नाघिसकेका राईलाई कानून बमोजिम कैद सजायमा ७५ प्रतिशत छुट दिइएको छ। प्राप्त अदालतको दस्ताबेज अनुसार, राईलाई ठगी, संगठित अपराध र राज्य विरुद्धको कसूरमा गरी एकीकृत रूपमा ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
अदालतले राईको हकमा ज्येष्ठ नागरिक सहुलियत प्रदान गर्दै बाँकी कैद अवधिमा छुट दिएको छ। फैसलाको पूर्ण पाठमा उल्लेख भए अनुसार, उनले अब २ महिना १३ दिन मात्र कैदमा बसी उक्त कैद र जरिवाना भुक्तान गरे पुग्नेछ।
राई यसअघि नै पुर्पक्षका लागि करिब ३ वर्ष जेल बसिसकेका छन्। उनले भुक्तान गरिसकेको उक्त समयलाई कट्टा गरेर अदालतले बाँकी अवधिको गणना गरेको हो।
यस प्रकरणमा संलग्न अन्य अभियुक्तहरू पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेकनारायण पाण्डेलाई भने जनही ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको पूर्ण सजाय सुनाइएको छ। उनीहरूको हकमा उमेरको यस्तो सहुलियत आकर्षित नभएकाले उनीहरूले तोकिएको पुरै अवधि जेल बस्नुपर्नेछ।
भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई भने अदालतले २ वर्ष कैद सजाय सुनाएको छ। इन्द्रजित राईले भने अदालतले तोकेको २ महिना १३ दिनको कैद र ४० हजार रुपैयाँ जरिवाना तिरेपछि जेलमुक्त हुन पाउनेछन्।