बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १३६ खेलाडी सहभागी हुने


    हुलाक प्रेस

    • बुधबार, साउन २० २०८३१०:२४
    एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १३६ खेलाडी सहभागी हुने

    काठमाडौं । जापानको आइची/नागोयामा हुने २०औँ एसियाली खेलकुदमा नेपालबाट २२ खेलमा १३६ खेलाडीले सहभागिता जनाउने भएका छन् ।

    नेपालबाट ८० पुरुष र ५६ महिला खेलाडी सहभागी हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलले जानकारी दिए । एसियाली खेलकुदमा सहभागी हुने प्रशिक्षक संख्या ३२ छ ।

    नेपालबाट आर्चरीमा एक-एक पुरुष/महिला, एथलेटिक्समा चार पुरुष र दुई महिला, ब्याडमिन्टनमा दुई-दुई पुरुष/महिला, बक्सिङमा चार पुरुष र तीन महिला, क्यानोइ स्लालममा दुई पुरुष, पुरुष क्रिकेट १५, साइक्लिङमा एक-एक पुरुष/महिला तथा डान्स एन्ड स्पोर्ट्समा एक पुरुष खेलाडी सहभागी हुनेछन् ।

    यसैगरी, गल्फमा तीन पुरुष र एक महिला, जुडोमा तीन-तीन पुरुष/महिला, कबड्डीमा १२–१२ पुरुष/महिला, करातेमा तीन पुरुष र पाँच महिला, स्केटबोर्डमा दुई पुरुष, सफ्ट टेनिसमा तीन पुरुष र एक महिला, स्क्वासमा एक-एक पुरुष/महिला, पौडीमा तीन पुरुष र दुई महिला, टेबलटेनिसमा तीन-तीन पुरुष/महिला, तेक्वान्दोमा दुई पुरुष, टेनिसमा तीन पुरुष र दुई महिला, महिला भलिबलमा १२, कुस्तीमा चार पुरुष र दुई महिला तथा उसुमा आठ पुरुष र तीन महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

    चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुदमा नेपालबाट २९ खेलमा २५३ खेलाडी सहभागी भएका थिए । १२६ पुरुष र १२७ महिला खेलाडीले भाग लिए । हाङझाव एसियाली खेलकुदमा नेपालले समान एक-एक रजत र कांस्य पदक जितेको थियो । ऐतिहासिक पदक जित्ने क्रममा करातेकी एरिका गुरुङले रजत तथा महिला कबड्डी टोलीले कांस्य जितेको थिए । २०औँ एसियाली खेलकुद असोज ३ गतेदेखि सुरु हुँदै छ ।


    प्रतिक्रिया दिनुहोस