कर्णाली । कालिकोटको पलाँता गाउँपालिकास्थित थिर्पुमा रहेको पलाँता अस्पतालमा कार्यरत चिकित्सक तथा नर्समाथि साङ्घातिक हमला गर्ने र अस्पतालको सम्पत्ति तोडफोड गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पक्राउ पर्नेहरूमा पलाँता गाउँपालिका–९ का ३५ वर्षीय सुशील बम, ३२ वर्षीया मैना बम र ३० वर्षीय तपेन्द्र बम रहेका छन्। अस्पताल परिसरभित्र भिडियो गेम खेल्न नदिएको सामान्य विषयलाई लिएर सुरु भएको विवादले उग्र रूप लिँदा स्वास्थ्यकर्मीहरूमाथि कुटपिट र अस्पतालका उपकरणहरूमा क्षति पुगेको हो।
घटनाको विवरणअनुसार शुक्रबार दिउँसो सुशील र मैना बमले अस्पतालका मेडिकल अधिकृत डा अली हैदर रैन र नर्स शान्ता गिरीमाथि कुटपिट तथा दुर्व्यवहार गरेका थिए।
सोही विवादलाई लिएर रातिको समयमा तपेन्द्र बमले अस्पतालमा अनधिकृत प्रवेश गरी त्यहाँ कार्यरत अहेब विष्णु रोकाया र सुरक्षा गार्ड दर्न डनमाथि आक्रमण गर्नुका साथै अस्पतालका भौतिक संरचनामा क्षति पुर्याएका थिए।
तोडफोडबाट अस्पतालको भिडियो स्क्यान मेसिन, भ्याक्सिन भण्डारण गरिने फ्रिज, पङ्खा, झ्यालका सिसा तथा फार्मेसीका औषधि राखिएका दराज र र्याकहरूमा ठूलो क्षति पुगेको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख प्रहरी नायब उपरीक्षक हिमबहादुर खत्रीले घटनामा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिए।
प्रहरीका अनुसार अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सामान्य निहुँमा भएको यस किसिमको हिंसात्मक गतिविधिमा संलग्न अन्य केहीको पनि खोजी भइरहेको छ भने एक जना बालकलाई पनि नियन्त्रणमा लिइएको छ।
स्वास्थ्यकर्मीमाथि कार्यस्थलमै भएको यो आक्रमण र सरकारी सम्पत्तिको क्षतिले स्थानीय स्वास्थ्य सेवा प्रवाहमा समेत असर पुगेको छ।