काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युरोपेली देशहरूले रुसी कार्गो बोकेका थप व्यावसायिक जहाज जफत गर्ने योजना अघि बढाए युरोपेली जहाज नै जफत गर्ने चेतावनी दिएका छन् ।
प्रशान्त महासागरको सखालिन टापुनजिकै रुसी नौसेनाले सैन्य अभ्यास गरिरहेका बेला एउटा रुसी क्रुजर युद्धपोतमा सवार पुटिनले बुधबार यस्तो चेतावनी दिएका हुन् । रुसी समाचार एजेन्सी ‘टास’का अनुसार पुटिनले रुसले ‘हामीलाई जहाँ आवश्यक र उपयुक्त लाग्छ’, त्यहीँ जहाज जफत गर्न तयार रहने बताएका छन् ।
युरोपेली प्रतिबन्ध उल्लंघन गर्दै रुसी तेल ओसारपसार गरिरहेको र मस्कोको ‘छद्म जहाज’को हिस्सा भएको शंकामा केही युरोपेली देशले जहाज रोकेपछि पुटिनको यस्तो भनाइ आएको हो ।
गत महिना पारित नयाँ प्रतिबन्धले युरोपेली संघका सदस्य राष्ट्रलाई ती जहाजबाट जफत गरिएको तेल वा अन्य कार्गो बिक्री गर्न अनुमति दिएको छ ।
केही देशले ‘हाम्रा जहाजको आवतजावतलाई सीमित गर्ने’ प्रयास गरिरहेको र हालै ‘हाम्रा जहाज जफत गर्ने तथा हामीबाट चोरी गरिएका सम्पत्ति बिक्री गर्ने सम्भावना’ बारे योजना अघि सारेको भन्दै पुटिनले ती प्रतिबन्धतर्फ संकेत गरेका थिए ।
रुसी समाचार एजेन्सी ‘रिया नोभोस्ती’ले प्रसारण गरेको भनाइमा पुटिनले ती कदमलाई ‘समुद्री डकैती र लुटपाट’ भन्दै भने, “यदि, यी योजनालाई व्यवहारमा लागु गरियो भने, हामीले जस्तालाई त्यस्तै जवाफ दिनुपर्नेछ ।”
उनले रुसको रक्षा मन्त्रालय र प्रशान्त महासागरमा रुसको समुद्री सैन्य हितका लागि जिम्मेवार नौसेना जहाज ‘प्यासिफिक फ्लिट’लाई यस विषयमा पहिले नै ‘सम्बन्धित निर्देशन’ दिइसकिएको बताए ।
पुटिनले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सैन्य गठबन्धनले एसिया–प्रशान्त क्षेत्रमा घुसपैठ गरेको र आर्कटिक क्षेत्रमा तनाव बढाएको आरोप पनि लगाए ।
“नेटो यस क्षेत्रमा घुसपैठ गरिरहेको छ, नयाँ सैन्य–राजनीतिक ब्लक गठन भइरहेका छन् । रुसका लागि खतरा पैदा गर्ने नयाँ हतियार प्रणाली तैनाथ भइरहेका छन् वा तैनाथ गर्ने योजना बनाइएको छ,” पुटिनले भने ।
पश्चिमी प्रशान्त महासागरमा रुसको नौसैनिक अभ्यास संयुक्त अमेरिका–दक्षिण कोरियाली युद्ध अभ्यास सुरु हुनुभन्दा करिब एक साताअघि भएको हो । उक्त अभ्यास उत्तर कोरियाबाट हुन सक्ने सम्भावित आक्रमणको सामना गर्ने उद्देश्यले आयोजना गरिएको हो ।
प्योङयाङ र मस्कोले आफ्नो सैन्य सहकार्यलाई अझ तीव्र पारिरहेको भन्दै युक्रेन र दक्षिण कोरियाले आरोप लगाइरहेका बेला यस क्षेत्रमा तनाव बढेको छ । अलजजिरा