काठमाडौं । विपद्का कारण परिवारबाट छुटेका, अभिभावक तथा संरक्षकविहीन भएका र विशेष संरक्षणको आवश्यकता परेका बालबालिकाको सुरक्षा तथा संरक्षणका लागि सरकारले ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएको छ।
योजनाअन्तर्गत ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा आएको छ। महिला, बालबालिका मन्त्रालयको पहलमा राष्ट्रिय बाल अधिकार परिषद्ले ठेचोमा केन्द्र सञ्चालनमा ल्याएको हो । उक्त केन्द्रमा बालबालिका लागि तत्काल सुरक्षित आश्रय र आवश्यक संरक्षण उपलब्ध गराइन्छ ।
केन्द्रमा बालबालिकाका लागि सुरक्षित आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, पारिवारिक अवस्था पहिचान तथा परिवार वा आफन्तको खोजी लगायतका सेवा उपलब्ध गराइनेछन् ।
बालबालिकाको सर्वोत्तम हित र सुरक्षा सुनिश्चित गर्दै सम्भव भएसम्म उनीहरूलाई परिवार वा उपयुक्त आफन्तसँग सुरक्षित पुनर्मिलन गराइनेछ।
परिवार वा आफन्तसँग सुरक्षित पुनर्मिलन सम्भव नभएको अवस्थामा मात्र, बालबालिकाको सर्वोत्तम हित, सुरक्षा र आवश्यकताको मूल्यांकनका आधारमा प्रचलित कानुन तथा मापदण्डबमोजिम दीर्घकालीन सुरक्षित संरक्षणको व्यवस्था अन्तिम विकल्पका रूपमा गरिनेछ।