काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
उनीहरुविरुद्ध सडक निर्माणको ठेक्कामा ७३ लाख ६१ हजार ९५३ रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा त्रिपुरासुन्दरी नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ मा वडा नं. ६ हरियापानी पालुङ माझफाल हुँदै रुकुमसम्म सडक योजनाको ठेक्का प्रक्रियामा भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानमा भेटिएको छ ।
सार्वजनिक खरिद ऐन तथा नियमावलीको व्यवस्था विपरीत कम रकम कबोल गर्नेलाई अनुत्तीर्ण गरी बढी रकम कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत तथा ठेक्का प्रदान गरेको अभियोगमा उनीहरूमाथि सजाय गर्न अख्तियारको अदालत समक्ष माग छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेलसँगै त्रिपुरासुन्दरी नगरपालिकाका प्रशासकीय अधिकृत हिरा चन्द्र धराला, वरिष्ठ लेखा सहायक रुपचन्द्र बुढा, शिक्षा अधिकृत भीम बहादुर थापा, एमआइएस अपरेटर शरिचन्द्र विष्टलाई पनि भ्रष्टाचार मुद्दामा बिगो असुलीका लागि प्रतिवादी कायम गरिएको छ ।
अख्तियारले नगरपालिकाकाको वडा नं. ६ स्थित हरियापानी पालुङ माझफाल हुँदै रुकुमसम्म सडक निर्माण कार्यको खरिद प्रक्रिया मूल्यांकनमा सङ्लग्न बोलपत्र मूल्यांकन समितिका सदस्य शिशिर कुमार गुरुङ, छल निर्माण सेवा प्रा.लि.दुनै, डोल्पा र उक्त निर्माण सेवाका प्रोपाइटर दिपचन्द्र रोकायामाथि पनि भ्रष्टाचारको अभियोग लगाएको छ ।