बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • अति भारी वर्षाको चेतावनी : तयारी अवस्थामा रहन स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन


    हुलाक प्रेस

    • बुधबार, असोज ७ २०८३१०:३७
    अति भारी वर्षाको चेतावनी : तयारी अवस्थामा रहन स्वास्थ्य संस्थालाई मन्त्रालयको निर्देशन

    काठमाडौं । भारीदेखि अति भारी वर्षाको चेतावनी भएका बेला स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित जोखिमको सामना गर्नसक्ने गरी तयारी अवस्थामा रहन अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई  निर्देशन दिएको छ ।  

    जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार थप वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण दुर्घटना, चोटपटक र जनस्वास्थ्यमा असर पर्न सक्ने भन्दै मन्त्रालयले आकस्मिक स्वास्थ्य सेवा तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।

    मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन इकाई (एचईडीएमयू)ले विज्ञप्ति जारी गर्दै अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक स्वास्थ्य जनशक्ति, औषधि तथा उपचार सामग्री तयारी अवस्थामा राख्न भनेको छ ।

    विपद्का कारण घाइते तथा बिरामीको संख्या बढ्न सक्ने भएकाले आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न र आवश्यक जनशक्ति परिचालन गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

    त्यस्तै, बिरामीको स्थानान्तरण तथा रेफरल सेवा सहज बनाउन एम्बुलेन्सको प्रभावकारी सञ्चालन र सम्बन्धित निकायबीच समन्वय गर्न पनि भनिएको छ ।

    विपद्को अवस्था सिर्जना भएमा संघीय तथा प्रदेशस्तरका स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसीरपीएचईओसी)सँग समन्वय गरी आवश्यक व्यवस्थापन गर्न मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।

    मन्त्रालयले विपद्का बेला स्वास्थ्य सेवा प्रभावित हुन नदिन आवश्यक औषधि, उपचार सामग्री र जनशक्तिको पूर्वतयारी गर्नसमेत भनेको छ ।


    प्रतिक्रिया दिनुहोस