बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई थुनामा पठाउन अदालतको आदेश


    हुलाक प्रेस

    • मंगलबार, असोज २० २०८३०९:५५
    प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई थुनामा पठाउन अदालतको आदेश

    काठमाडौँ । प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

    बैंकिङ कसुरको मुद्दामा उच्च अदालत पाटनले मंगलबार शेरचनलाई थुनामा पठाउन आदेश दिएको हो । शेरचनविरुद्धको थुनछेक उच्च अदालत पाटनका न्यायाधीश गणेश प्रसाद बराल र राजुकुमार खतिवडाको इजलासमा भएको थियो ।

    शेरचनविरुद्ध विप्रेषण वापतको रकमको ब्याज ८ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाँ ३० पैसा र संचालक समितिको निर्णय नगराई गुण एयरलाइन्सको नाममा १५ करोड रुपैयाँ ऋण प्रवाह गरेको आरोप छ। 

    २० करोड १७ लाख ६७ हजार ३३४ रुपैयाँ ३० पैसा बिगो कायम गर्दै मुदा दायर भएको छ। शेरचनले बयानका क्रममा ऋणि संस्था गुण एयरलाइन्सलाई कर्जा प्रवाह गर्दा पछि अनुमोदन गराउने गरी संचालक समितिको पूर्वस्वीकृति नलिई ऋण प्रवाह गरेको स्वीकार गरेका थिए। 

    प्रभु बैंकलाई प्राप्त हुनु पर्ने ८ करोड ९३ लाख १९ हजार ९८६ रुपैयाँ ३० पैसा ब्याज बैंकमा प्राप्त नभएको जनाउँदै बैंकले पत्र सीआईबीलाई पठाएको थियो।

    प्रभु बैंकका कर्मचारीले पनि बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनको निर्देशनमा संचालक समितिबाट निर्णय हुनु अघि नै ऋण प्रवाह गरिएको कागज गरेका थिए। 

    ‘नेपाल राष्ट्र बैंकको प्रतिवेदनहरु, प्रहरी प्रतिवेदन, प्रतिवादीको अधिकार प्राप्त अधिकारी समक्षको बयान, घटना विवरण कागज गर्ने व्यक्तिहरुको कागज व्यहोरा, सह प्रतिवादीहरुको अधिकारप्राप्त अधिकारी समक्षको बयान, प्रकृया पुरा नगरी कर्जा प्रवाह गरी कर्जा दुरुपयोगमा यी प्रतिवादी समेतको मिलेमतो रहेको भन्ने अभियोग दावी, यी प्रतिवादी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रही निजको जिम्मेवारी र भुमिका लगायत मिसिल संलग्न तत्काल प्राप्त प्रमाणको आधारमा यी प्रतिवादी निर्दो रहेछन भनी मान्न सकिने अवस्था नहुँदा पछि ठहरे बमोजिम हुने गरी मुद्दा पुर्पक्षको लागि यी प्रतिवादी अशोक शेरचनलाई कानून बमोजिमको सिधा खान पाउने गरी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राख्न कानून बमोजिमको थुनुवा पूर्जि दिई सम्बन्धित कारागारमा पठाइदिनू’, आदेशमा भनिएको छ।

     


    प्रतिक्रिया दिनुहोस