बिहीबार , कात्तिक ६ गते २०८३
images
  • यो साता चर्चामा :
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानले के देश छाड्दैछन् ?


    हुलाक प्रेस

    • मंगलबार, कात्तिक ४ २०८३१०:३५
    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानले के देश छाड्दैछन् ?
    तस्वीर स्रोत : एएपी

    काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सरकारसँग सम्झौता गर्न तीव्र दबाब दिइएको विपक्षी नेता महमुद खान अचक्जाईले बताएका छन् । नवाज सरिफ तथा बेनजीर भुट्टोझैँ इमरान पनि देश छोड्न बाध्य हुन सक्ने अचक्जाईले दाबी गरेका छन् ।

    शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पख्तुनख्वा मिल्ली अवामी पार्टी (पीकेएमएपी) का अध्यक्षसमेत रहेका संसद्का विपक्षी दलका नेता अचक्जाईले सरकार इमरानमाथि सम्झौताका लागि दबाब बढाइरहेको बताए ।

    नवाज र बेनजीरले किन छाडेका थिए पाकिस्तान?

    अचक्जाईले आफ्नो दाबीको समर्थनमा पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ र बेनजीर भुट्टोको राजनीतिक इतिहासको उदाहरण दिए ।

    सन् १९९९ मा तत्कालीन सेना प्रमुख परवेज मुशर्रफले सैनिक विद्रोहमार्फत नवाज सरकारलाई अपदस्थ गरेका थिए । त्यसपछि नवाजलाई जेल हालिएको थियो । सन् २००० मा साउदी अरेबिया र लेबनानका नेताहरूको मध्यस्थतामा भएको सम्झौतापछि उनी पाकिस्तान छाडेर गएका थिए । उक्त सम्झौताअनुसार उनी १० वर्षसम्म देशबाहिर रहनुपर्ने थियो ।

    सन् १९९७ मा तत्कालीन राष्ट्रपति फारूक लेघारीले भ्रष्टाचारको आरोपमा बेनजीर भुट्टोलाई प्रधानमन्त्री पदबाट हटाएका थिए । त्यस वर्षको निर्वाचनमा उनको पार्टी पराजित भएपछि उनी पाकिस्तान छाडेर बेलायत र दुबईमा निर्वासनमा बसेकी थिइन् ।

    नवाजका पूर्वसहयोगी, अहिले इमरानका सहयात्री

    महमुद खान अचक्जाई सन् १९७३ मा आफ्ना बुबाको हत्यापछि राजनीतिमा सक्रिय भएका थिए । उनका बुबा पश्तून समुदायको अधिकार र राजनीतिक पहिचानका लागि संघर्षरत थिए ।

    ९० को दशकमा नवाज सरिफको पार्टीका सहयोगी रहेका अचक्जाईले सन् २०१४ मा इमरान खानले नवाज सरकारविरुद्ध गरेको आन्दोलनका बेला नवाजलाई समर्थन गरेका थिए । पछि संविधानको रक्षा र विपक्षी दलहरूबीच एकताको मुद्दामा उनको पार्टी इमरानको दलसँग नजिकिएको थियो ।

    जनवरी २०२६ मा इमरानले नै उनलाई राष्ट्रिय सभामा विपक्षी दलको नेता बनाउन नाम अघि सारेको बताइएको छ ।

    अचक्जाई लामो समयदेखि पाकिस्तानी राजनीतिमा सेनाको हस्तक्षेप र सत्ताको केन्द्रीकरणको विरोध गर्दै आएका छन् ।

    जेलमा इमरान

    इमरान खान सन् २०२३ अगस्टदेखि जेलमा छन् । तोशाखाना मुद्दामा तीन वर्षको सजाय सुनाइएपछि ५ अगस्ट २०२३ मा उनी पक्राउ परेका थिए । उनीमाथि गोप्य कूटनीतिक कागजात प्रकरण (सिफर), अल–कादिर ट्रस्ट र इद्दत निकाहलगायत विभिन्न मुद्दा चलिरहेका छन् । उनीविरुद्ध करिब २०० मुद्दा रहेको बताइएको छ ।

    केही मुद्दामा उनले अदालतबाट राहत पाएका छन् भने तोशाखाना मुद्दाको सजाय पनि निलम्बन गरिएको थियो । तर, अन्य मुद्दाका कारण उनी जेलमुक्त हुन सकेका छैनन् ।

    इमरान र उनको दल पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले सन् २०२२ मा प्रधानमन्त्री पदबाट हटाइएपछि आफूमाथि लगाइएका मुद्दा राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको आरोप लगाउँदै आएका छन् । उनीहरूका अनुसार पार्टीलाई राजनीति र निर्वाचन प्रक्रियाबाट टाढा राख्ने उद्देश्यले मुद्दा लगाइएको हो ।

    तर पाकिस्तानी सरकार र अनुसन्धान निकायहरूले यी आरोप अस्वीकार गर्दै मुद्दाहरू नियमित कानुनी प्रक्रियाअन्तर्गत अघि बढिरहेको दाबी गर्दै आएका छन् ।


    प्रतिक्रिया दिनुहोस