काठमाडौं । कोसी प्रदेश सरकारका लागि गठबन्धन दलका दुई नेता केदार कार्की र इन्द्रबहादुर आंग्बोले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्।
मुख्यमन्त्रीको दाबीका लागि प्रदेश प्रमुख परशुराम खापुंगले असोज २६ गतेको समयसीमा तोकेपनि एकदिन अघि नै प्रदेशका पूर्वमन्त्रीद्वयले दाबी पेश गरेका हुन्।
बिहीबार काठमाडौंमा रहेका दुवै जना बेलुका विराटनगर फर्कँदै प्रदेश प्रमुखको कार्यालयमा दाबीका लागि पुगेका थिए। डा. शेखर कोइराला पक्षका कार्कीले एमालेको साथमा मुख्यमन्त्रीको दाबी गरेका हुन्। एमाले प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार मुख्यमन्त्रीमा कार्कीलाई एमालेले साथ दिएको हो। कार्कीले पार्टीतर्फबाट इन्दिरा थापा, शमसेर राई, रामकुमार खत्री, लीला राई, गोविन्द गिरी, मानबहादुर लिम्बू, सुनिता गुरुङले साथ दिएका छन्।
४० सिट रहेको एमालेले कार्कीलाई साथ दिएसँगै प्रदेश सरकार गठनका लागि सहजता देखिने भएको छ। सरकारका लागि आवश्यक ४७ सिट मध्ये कांग्रेस २९ र एमाले ४० सिट रहेको छ।
अर्कोतर्फ, माओवादीका संसदीय दलका नेता आंग्बोले पनि मुख्यमन्त्रीका लागि दाबी पेश गरेका छन्। आङ्बोले पनि ४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। उनले गठबन्धनमा रहेका कांग्रेससहित माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रदेशसभाको हस्ताक्षर प्रदेश प्रमुखको कार्यालयमा बुझाएका छन्।