बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • पाकिस्तानविरुद्ध सुपर ओभरमा अमेरिकाको जित


    हुलाक प्रेस

    • शुक्रबार, जेठ २५ २०८१०८:१६
    पाकिस्तानविरुद्ध सुपर ओभरमा अमेरिकाको जित

    काठमाडौं । आईसीसी ट्वान्टी २० विश्वकपमा टेस्ट राष्ट्र पाकिस्तानविरुद्ध अमेरिकाले सुपर ओभरमा जित निकालेको छ । 

    बिहीबार टेक्सासस्थित ड्यालसमा भएको खेलमा पाकिस्तानले प्रस्तुत गरेको १६० रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५९ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । घरेलु टिमले सन् २००९ को विश्वकप विजेताविरुद्ध सुपर ओभरमा पाँच रनको जित निकाल्दै सनसनी मच्चाएको हो । ट्वान्टी २० क्रिकेट संरचनामा यी दुई टिम पहिलो पटक भिडेका हुन् ।

    सुपर ओभरमा अमेरिकाले पहिले ब्याटिङ गर्दै एक विकेट गुमाएर १८ रनको योगफल खडा गरेको थियो । १९ रनको लक्ष्यसहित मैदान उत्रिएको पाकिस्तानले ६ बलमा एक विकेट गुमाएर १३ रनमात्र बनाएपछि अमेरिकाले पहिलो अन्तर्राष्ट्रिय भेटमै विश्वकप विजेतालाई हराएको हो ।

    त्यसअघि खेलमा टस हारेर ब्याटिङमा आएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको थियो । 

    पाकिस्तानबाट कप्तान बाबर आजमले सर्वाधिक ४४ रन बनाए । उनले ४३ बलमा तीन चौका र दुई छक्का प्रहार गरे । २६–३ को अवस्थाबाट आजमले सदाब खानसँग ७२ रनको साझेदारी गर्दै पाकिस्तानको इनिङ उकासेका थिए । 

    सदाबले २५ बलमा एक चौका र तीन छक्कासहित ४० रन थपे । साहिन साह अफ्रिदीले २३ र इफ्तिखर अहमेदले १८ रन बनाए । 

    अमेरिकाका नोस्थुस केन्जिगेले तीन विकेट लिए । सौरभ नेत्राभाल्करले दुई विकेट लिँदा अली खान र जसदीप सिंहले समान एक विकेट लिए ।

    १६० रनको विजयी लक्ष्यसहित मैदान उत्रिएको अमेरिकाले पनि निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १५९ रन नै बनाएको हो । अमेरिकालाई जितका लागि अन्तिम ओभरमा १५ रनको आवश्यकता थियो । तर, क्रिजमा रहेका आरोन जोनस र नितिश कुमारले ह्यारिस रौफको ओभरमा १४ रनमात्र बनाएपछि नतिजाको निर्णयका लागि सुपर ओभर आवश्यक परेको हो ।

    अमेरिकाका कप्तान मोनांक पटेलले ५० रन बनाए । उनले ३८ बलमा सात चौका र एक छक्का प्रहार गरे । आरोना जोनसले ३६, एन्ढ्रिएस गोउसले ३५, नितिश कुमारले १४ र स्टेभन टेलरले १२ रन बनाए ।

    पाकिस्तानका मोहम्मद आमिर, नसिम साह र ह्यारिस रौफले समान एक विकेट लिए । 

    प्रतियोगितामा अमेरिकाको लगातार दोस्रो जित हो । अमेरिकाले यसअघि पहिलो खेलमा क्यानडाविरुद्ध सात विकेटको जित निकालेको थियो । लगातार दोस्रो जित निकालेको अमेरिका चार अंकसहित समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमै पराजित पाकिस्तान तालिकाको तेस्रो स्थानमा छ ।

     


    प्रतिक्रिया दिनुहोस