बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • साविक विजेता इंग्ल्यान्डविरुद्ध अस्ट्रेलिया ३५ रनले विजयी


    हुलाक प्रेस

    • आइतबार, जेठ २७ २०८१०७:५०
    साविक विजेता इंग्ल्यान्डविरुद्ध अस्ट्रेलिया ३५ रनले विजयी

    काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपमा अस्ट्रेलियाले साविक विजेता इंग्ल्यान्डविरुद्ध ३५ रनको जित निकालेको छ ।

    शनिबार राति ब्रिजटाउनमा भएको खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाएर १६५ रनमात्र बनाउन सक्यो ।

    इंग्ल्यान्डका कप्तान जस बटलरले २८ बलमा पाँच चौका र दुई छक्कासहित ४२ रन बनाए पनि टिमको हार टार्न सकेनन् । ओपनर फिल साल्टले ३७ रन थपे । बटलर र साल्टले ७.१ ओभरमा पहिलो विकेटका लागि ७३ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर, यसपछिका ब्याटरले यो लयलाई कायम राख्न नसक्दा इंग्ल्यान्ड १६५ रनमै रोकिएको हो ।

    यसबाहेक, मोइन अलीले २५, ह्यारी ब्रुकले २० र विल ज्याकले १० रन थपे । अस्ट्रेलियाका प्याट कुमिन्स र एडम जाम्पाले समान दुई विकेट लिए । जस हेजलवुड र मार्कुस स्टोइनिसको नाममा एक–एक विकेट रह्यो ।

    त्यसअघि टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०१ रनको योगफल खडा गरेको थियो । जारी विश्वकपमा २०० रनको योगफल पार गर्ने अस्ट्रेलिया पहिलो टिम बन्यो ।

    अस्ट्रेलियाका ओपनर डेविड वार्नरले सर्वाधिक ३९ रन बनाए । कप्तान मिचेल मार्सले ३५ रन थप्दा अर्का ओपनर ट्राभिस हेडले ३४ रन बनाए । ओपनरद्वय वार्नर र हेडले पाँच ओभरमा ७० रनको साझेदारी गर्दै अस्ट्रेलियालाई आक्रामक सुरुआत दिलाएका थिए ।

    मार्कुस स्टोइनिसले ३०, ग्लेन म्याक्सवेलले २८, म्याथ्यु वेडले १७ र टिम डेविडले ११ रन जोडे । इंग्ल्यान्डका क्रिस जोर्डनले दुई विकेट लिए । मोइन अली, जोफ्रा आर्चर र लियम लिभिङस्टोनले एक–एक विकेट लिए ।

    प्रतियोगितामा लगातार दोस्रो जित निकालेको अस्ट्रेलिया चार अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । अस्ट्रेलियाले यसअघि पहिलो खेलमा ओमानविरुद्ध ३९ रनको जित निकालेको थियो ।

    समान खेलबाट एक अंक जोडेको इंग्ल्यान्ड तालिकाको चौथो स्थानमा छ । यसअघि इंग्ल्यान्डको पहिलो खेल वर्षा कारण नतिजाविहीन टुंगिएको थियो ।


    प्रतिक्रिया दिनुहोस