बुधबार, असोज २८ गते २०८३
  • यो साता चर्चामा :
  • प्रधानमन्त्री दाहालको चीन भ्रमणः नयाँ ब्रेक थु भएन, अधिकांश पुरानै विषयमा केरकार गरेर हस्ताक्षर गराइयो


    हुलाक प्रेस

    • मंगलबार, असोज ९ २०८००७:२३
    प्रधानमन्त्री दाहालको चीन भ्रमणः नयाँ ब्रेक थु भएन, अधिकांश पुरानै विषयमा केरकार गरेर हस्ताक्षर गराइयो

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा म‌गलबार नेपाल र चीनले संयुक्त विज्ञप्ति जारी गरेका छन् । 
    स‌युक्त विज्ञप्तिमा दुई देशबीच रहेका पारम्परिक सीमा व्यापार विन्दुहरूलाई पनि पुन: खोल्ने समझदारी भएको जनाइएको छ । 

    प्रधानमन्त्री दाहालको भ्रमणले यसअघि सम्झौता भइसकेका विषयमा थपथाप मात्रै गरिएको छ । यो भ्रमणमा कुनै नयाँ ब्रेक थु भएको देखिदैन । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चिलिमे–रसुवागढी २२० केभी प्रसारणलाइन र सन् २०२५ भ्रमण वर्ष मनाउनेबाहेक अरु नयाँ सहमति भएनन् ।

    त्यस्तै लिजी-नेचुङ बन्दरगाह र झाङ्मु-खासा सर्वसाधारणका लागि खोलिएकोमा दुवै पक्षले स्वागत गरेको पनि वक्तव्यमा जनाइएको छ । २०७२ को भूकम्पपछि बन्द भएको तातोपानी नाका भोटेकोशीको बाढी, कोरोनाकालमा बेलाबेला खुल्ने, बन्द हुने भइरह्यो । उक्त अवधिमा सामान आयात भए पनि आउजाउ भने बन्द थियो ।

    तीन साताअघि औपचारिक रूपमा नाका खुलेयता सोमबारसम्म चीनबाट ८ सय २० पर्यटक नेपाल घुम्न आएको अध्यागमन कार्यालय कोदारीका प्रमुख रवीन्द्र पोखरेलले बताए । विशेषगरी तिब्बतको ल्हासा र सिगात्सेबाट नेपाल घुम्न आउनेको संख्या अधिक रहेको अध्यागमन कार्यालयले बताएको छ ।

    त्यस्तै छेन्ताङ-किमाथांका र रिवु-ओलाङचुङगोला बन्दरगाह खोल्ने विषयमा पनि दुई पक्षबीच कुराकानी जारी रहने संयुक्त वक्तव्यमा उल्लेख छ । यातायात र राजमार्ग विस्तारका सन्दर्भमा यसअघि भएका सहमतिहरूलाई कार्यान्वयनमा लैजाने विषयमा पनि चीन र नेपालबीच छलफल भएको छ । 'दुवै पक्ष भूपरिवेष्ठितबाट नेपाललाई भूजडित देश बनाउनका लागि यातायात र राजमार्गको उपयोगसम्बन्धी हस्ताक्षर भएका सहयोग लागू गर्न सहमत भएका छन्,' संयुक्त वक्तव्यमा भनिएको छ ।

    टोखा-छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तीव्रता दिन पनि नेपाल र चीन सहमत भएका छन् । उक्त आयोजनाले नेपाल-चीन सम्पर्कमा नयाँ आयाम थप्ने पनि दुवै मुलुकले जनाएका छन् । त्यस्तै काठमाडौंको चक्रपथको दोस्रो चरणको विस्तारलाई पनि छिट्टै कार्यान्वयनमा लैजाने संयुक्त वक्तव्यमा उल्लेख छ ।

    त्यस्तै जिलोङ/केरुङ-काठमाडौं सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनमा भएको प्रगतिमा पनि दुवै मुलुक सन्तुष्ट रहेको जनाएका छन् । चीनले नेपाललाई रेल सञ्चालनका लागि चाहिने आवश्यक जनशक्तिलाई तालिम दिन तयार रहेको पनि वक्तव्यमा जनाइएको छ ।

    त्यस्तै नेपालले चीनलाई एक जोडी गैंडा दिने पनि संयुक्त वक्तव्यमा उल्लेख छ । दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतीकका रूपमा नेपालले चीनलाई गैंडा उपहार दिने प्रतिबद्धता जनाएको पनि वक्तव्यमा उल्लेख छ । नेपालले उपहारका रूपमा अमेरिका, भारत, बेलायत, जर्मनी र चीनलाई गैंडा दिँदै आएको छ ।


    प्रतिक्रिया दिनुहोस