बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • एम्बाप्पे र भिनिसियसको पेनाल्टी गोलमा रियालको जित


    हुलाक प्रेस

    • आइतबार, भदौ ३० २०८१०८:००
    एम्बाप्पे र भिनिसियसको पेनाल्टी गोलमा रियालको जित

    काठमाडौं । स्टार खेलाडी केलियन एम्बाप्पे र भिनिसियस जुनियरको पेनाल्टी गोलमा साविक विजेता रियाल मड्रिडले ला लिगामा रियाल सोसिडाडलाई २–० ले हराएको छ ।

    सोसिडाडको घरमा शनिबार राति गोलको लागि मड्रिडले संघर्ष गर्नुपरेको थियो । दुबै गोल दोस्रो हाफमा भएका थिए । जितपछि पनि प्रशिक्षक कार्लाे एन्सोलोटी खुसी भएनन् । उनले जितको लागि टोली योग्य नभएको प्रतिक्रिया दिए ।  

    तेस्रो जितपछि पनि रियाल ला लिगाको दोस्रो स्थानमा छ । पाँच खेलबाट टोलीको ११ अंक छ । ४ खेलमा चारै खेल जितेको बार्सिलोना १२ अंकसहित शीर्षस्थानमा छ । पराजित सोसिडाड पाँच खेलबाट ४ अंकसहित १६औं स्थानमा रह्यो ।

    सोसिडाडको रियाल एरिनामा ३७ हजार समर्थकमाझ भिनिसियसले ५८औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । ७५औं मिनेटमा पाएको अर्काे पेनाल्टीलाई एम्बाप्पेले सदुपयोग गरेका थिए । जितपछि रियालका प्रशिक्षक एन्सोलोटीले भने, ‘सोसिडाडले निकै राम्रो खेल्यो । तीन अंकको लागि हामी योग्य थिएनांै ।’

    साविक विजेता रियालले अब यसै साता च्याम्पियन्स लिगमा जर्मन बुन्डेसलिगाको स्टुटगार्डसँग खेल्दैछ । त्यसका लागि टोलीले अझै मेहनत गर्नुपर्ने एन्सोलोटीको बताएका छन् । 


    प्रतिक्रिया दिनुहोस