काठमाडौं। प्रशिक्षक एरिक टेन हागको नेतृत्वमा रहेको म्यानचेस्टर युनाइटेडका इङ्लिस लिग कपअन्तर्गत मंगलबार राति भएको खेलमा तेस्रो डिभिजनको बार्न्सलीलाई ७–० ले पराजित गरेका छन् ।
दुई वर्षभन्दा बढी समयदेखि जिम्मेवारी सम्हालिरहेका डचम्यानको नेतृत्वमा युनाइटेडको यो सबैभन्दा ठूलो जित हो । ओल्ड ट्राफोर्डमा भएको तेस्रो चरणको खेलमा मार्कस राशफोर्ड, एलेजान्ड्रो गार्नाचो र क्रिश्चियन एरिक्सनले दुई–दुई गोल गरे ।
‘मेरो लागि होइन तर टोलीको लागि यो उत्तम रात हो । हामीले जे गर्ने योजना बनाएका थियौं, त्यो गर्न सक्यौं । हामीले जित्यौं, त्यसैले हामी खुसी छौं,’ टेन हागले भने । सन् २०२१ मा पूर्वप्रशिक्षक ओले गनर सोल्सजायरको प्रशिक्षणमा साउथह्याम्पटनलाई ९–० ले हराएपछिको यो सबैभन्दा ठूलो जित हो ।
टेन हागको नेतृत्वमा भने युनाइटेडले रियल बेटिस र चेल्सीविरुद्ध ४–१ को ठूलो जित हात पारेको थियो । १६औं मिनेटमा रशफोर्डले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाए । ३५औं मिनेटमा एन्टोनीले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गार्नाचोले गोल गर्दै घरेलु टोलीलाई अग्रता अझ फरक बनाए ।
४९औं मिनेटमा गार्नाचोले व्यक्ति दोस्रो र युनाइटेडका लागि चौथो गोल गरे । ५८औं मिनेटमा रशफोर्डले गोल गर्दा युनाइटेड ५–० मा पुगिसकेको थियो ।
सन् २०२३ को फेब्रुअरीपछि रशफोर्डले पहिलो पटक एक खेलमा एकभन्दा बढी गोल गरेका हुन् । एरिक्सनले ८१औं र ८५औं मिनेटमा दोहोरो गोल गर्दै टोलीलाई सहज जित दिलाए ।