काठमाडौं। ८७औं मिनेटसम्म पनि आर्सनल इङ्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर सिटीविरुद्धको खेलमा तीन अंक दाबेदार थियो । अन्तिमसमय सम्म तीन अंकको दाबेदार रहेको आर्सनल इन्जुरी समयको ३३ सेकेन्ड बाँकी रहँदा सम्हालिन सकेन र सिटीसँग हात पारिसकेको दुई अंक गुमाएको छ ।
यो बराबरीसँगै आर्सनल लिगमा चौथो जित हासिल गर्न चुकेको छ । सिटीसँग जित हासिल गरेको भए आर्सनल १३ अंकसहित शीर्ष स्थानमा उक्लिने थियो । तर, यो बराबरीले आर्सनललाई अंक तालिकामा फड्को मार्न रोकेको छ । पाँच खेलबाट ११ अंक जोडेको आर्सनल चौथो स्थानमा छ ।
समान खेलबाट १३ अंक जोडेको सिटी भने लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा उक्लिन सफल भएको छ । लिभरपुलको भने आर्सनलभन्दा एक अंक बढी र सिटीभन्दा एक अंक कम छ ।
एर्लिङ हाल्यान्डले नवौं मिनेटमै गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, एक गोलले पछि परिसकेको अवस्थामा आर्सनलले सानदार पुनरागमन गरेको थियो। यसमा नायक भने रिकार्डो कालाफियोरी रहे । उनले २२औं मिनेटमा ग्रेबियल मार्टिनेलीको क्रसमा गोल गर्दै आर्सनललाई खेलमा फर्काएका हुन् ।
यसपछि गोल गर्ने पालो गेब्रियलकै थियो। उनले पहिलो हाफको इन्जुरी समयमा बुकायो साकासँग सहकार्य गर्दै आर्सनललाई २-१ को अग्रता दिलाए । स्कोर बोर्डमा एक गोलको अग्रता हुँदाहुँदै आर्सनलले पहिलो हाफको इन्जुरी समयमै लिआन्ड्रफ ट्रोसार्डलाई गुमाउन पुगेको थियो । उनी डबल पहेँलो कार्ड बेहोर्दै मैदान छाडेका हुन् ।
यद्यपि, आर्सनललाई त्यसको कुनै प्रभाव परेको थिएन। स्वाभाविक खेल पस्किरहेको आर्सनलले दोस्रो हाफमा सिटीलाई रोकेको थियो। तर, दोस्रो हाफको इन्जुरी समयमा भने रोक्न नसक्दा स्पष्ट तीन अंक मात्रै होइन, तीन स्थान फड्को मार्ने अवसर पनि गुमाएको छ। यसमा सिटीलाई अन्तिम समयमा खेलमा फर्काएका जोन स्टोन्सको फिनिसिङ भने अब्बल नै मान्नुपर्छ।