काठमाडौं । युरोपियन नेसन्स लिगमा इङ्ल्यान्डले फिनल्यान्डविरुद्ध ३–१ को सहज जित निकालेको छ ।
आइतबार राति भ्रमणकारी टोलीलाई जित दिलाउन ज्याक ग्रेलिस, ट्रेन्ट एलेन्जेन्डर अर्नाल्ड र डिक्लेन राइसले गोल गरेका हुन् । फिनल्यान्डका अर्टु होसकोनेनले एक गोल फर्काएका थिए ।
जितपछि पनि इङ्ल्यान्ड समूह बी को २ मा दोस्रो स्थानमै छ । चार खेलबाट १४ अंक जोडेको ग्रीस शीर्ष स्थानमा छ । इङ्ल्यान्डको ९ अंक छ । आयरल्यान्डको ३ तथा फिनल्यान्डले खाता खोल्न सकेको छैन ।
फिनल्यान्डविरुद्ध इङ्ल्यान्डले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थप गरेको थियो । ग्रेलिसले १८औं मिनेटमा पहिलो गोल गरेका थिए । एलेक्जेन्डरले ७४औं मिनेटमा दोस्रो गोल गरेका हुन् । राइसले ८४औं मिनेटमा ३–० को अग्रता बनाए । अर्टुले खेल सकिन तीन मिनेटअघि घरेलु टोलीका लागि गोल गरेका हुन् । राति नै भएको खेलमा ग्रीसले आयरल्यान्डलाई २–० ले हरायो ।