काठमाडौं । युरोपियन नेसन्स लिगमा भ्रमणकारी टोली फ्रान्सले घरेलु टोली बेल्जियमलाई २–१ ले पराजित गरेको छ ।
बेल्जियममा भएको खेलमा फ्रान्सलाई जित दिलाउन रान्डल कोलो मुअनीले दुई गोल गरेका थिए । बेल्जियमका लोइस ओपेन्डाले एक गोल फर्काएका थिए ।
खेलको ७६औं मिनेटमा औरेलिअन टिचौमेनीले रातो कार्ड पाएपनि बेल्जियमले त्यसको फाइदा उठाउन सकेन । खेलको २३औं मिनेटमा यौरी टिएलेम्यान्सले पेनाल्टी चुकाउँदा बेल्जियमले अग्रता बनाउने अवसर गुमायो ।
खेलमा केलिएन एम्बाप्पेलाई भने विश्राम दिइएको थियो । औसमाने डेम्बेले भने गोलविहिन भए । यसै समूहको अर्का खेलमा इटालीले इजरायललाई ४–१ ले हराएको छ ।
समूह ए को २ मा इटालीको ४ खेलबाट १० अंक रहेको छ । इटाली शीर्ष स्थानमा रहँदा ९ अंकको फ्रान्स दोस्रो स्थानमा रह्यो । ४ अंकको बेल्जियम तेस्रो स्थानमा छ भने इजरायल बिना अंक पुछारमा रह्यो ।