काठमाडौँ । विश्वकप लिग-२ अन्तर्गत अमेरिकामा जारी एकदिवसीय सिरिजमा नेपालले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।
अमेरिकासँग नेपालको यो जारी सिरिजको दोस्रो तथा अन्तिम खेल हो । खेल नेपाली समय अनुसार राति ९:१५ बजे डालास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सुरु हुनेछ ।
नेपाल,अमेरिका र स्कटल्यान्ड समिलित सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएर ७ खेलपछि पहिलो जित निकालेको थियो ।
नेपाल विश्वकप लिग-२ को जारी संस्करणमा अङ्क तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको छ । ८ टोली सहभागी सिरिजमा नेपाल भन्दा पछि युएइ मात्र रहेको छ । नेपाल कम्तीमा यो सिरिजमा अङ्क तालिका सुधारको लक्ष्यमा रहँदा अमेरिकालाई पराजित गर्नु पर्ने दबाबमा रहेको छ ।
नेपालले १० खेलबाट ५ अङ्क बनाएको छ। अमेरिका भने आफ्नो उत्कृष्ट लयमा रहेको छ । अमेरिकाले ११ खेलबाट १४ अङ्क बनाएर अङ्क तालिकाको दोस्रो स्थानमा आफूलाई कायम राखेको छ ।
आज नेपाललाई हराएर १२ खेलबाट क्यानडा समान १६ अङ्क बनाएर शीर्ष स्थानमा पुग्ने अमेरिकाको लक्ष्य रहँदा नेपाललाई भने आफ्नो पुरानो लय फर्काउनु पर्ने चुनौती र चिन्ता रहेको छ ।