काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा बलिया टोलीहरुले सहज जित हासिल गरेका छन्।
बार्यन म्युनिखले फ्रेन्च क्लब पिएसजीलाई १-० ले हराउँदा बार्सिलोनाले अर्को फ्रेन्च क्लब ब्रेस्टमाथि ३-० को जित निकाल्यो। आर्सनलले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई ५-१ ले हराएको थियो।
त्यस्तै, अन्य खेलम एसि मिलानले स्लोभान ब्राटिस्लाभालाई ३-२ ले पराजित गर्दा एट्लेटिको म्याड्रिडले स्पार्टा प्रागको पोस्टमा ६ गोल गर्यो। एट्लेटिकको फराकिलो जितमा जुलियन अल्भारेजले २ गोल गरेका थिए। त्यस्तै बार्यन लेभरकुसेनले रेड बुल साल्सबर्गलाई ५-० ले हराउँदा इन्टर मिलानले आरबी लेइपजिङलाई १-० ले पाखा लगायो। त्यस्तै एट्लान्टाले योङ ब्वाइजमाथि ६-१ को एकतर्फी जित निकाल्यो।
योसँगै च्याम्पियन्स लिगको अङ्क तालिकामा इन्टरमिलान १३ अङ्क बनाएर शीर्ष स्थानमा उक्लिँदा बार्सिलोना र लिभरपुल १२ अङ्कका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
यस्तै, एट्लान्टा ११ अङ्कका साथ चौंथो स्थानमा रहँदा बार्यन लेभरकुसेन, मोनाको, आर्सनल र स्पोर्टिङ सिपी समान १० अङ्कका साथ शीर्ष आठमा रहेका छन्।