काठमाडौं । रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।
न्यायाधीश खड्गबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । यस्तै अदालतले ८ जनालाई सफाइ दिएको छ ।
अदालतले नवराज विककी प्रेमिका, प्रेमिकाकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गरेको छ । २०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विकसहित ६ जना किशोर तथा युवाको हत्या भएको थियो । प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज विक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनालाई मुद्दा चलाएको थियो । ३४ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा मुद्दा दायर भएको थियो ।
२०७७ साल जेठ ३२ गते रुकुम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको सङ्ख्या बढी हुँदा सुनुवाइमा लामो समय लागेको हो । मुद्दा दर्ता भएको ३६ महिनापछि उक्त मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाइ गरी मंगलबार फैसला आएको हो ।