काठमाडौँ । जिल्ला अदातल महोत्तरी । सानो कोठा, पोशाक लगाएका प्रहरी, कालो कोटमा लगाएका वकिल, न्यायाधीश र आफ्नै परिवारका बिचमा थिए १२ वर्षीय बालक । पारिवारिक अंशवण्डा मुद्दामा उनीहरु त्यहाँ न्यायको लागि जम्मा भएका थिए ।
अनुशासित भएर टाउको झुकाएर एउटा कुर्सिमा बसिरहेका बालकलाई कसैले अचानक एउटा प्रश्न सोधे ? ‘तिम्रो नाम के हो बाबु ?’ कसैले आफैँलाई प्रश्न गर्दा केही झसंग भएका उनी अनुहार ठाडो बनाएर अगाडि हेरे । उनलाई त त्यो कोठाको सबैभन्दा ठूला व्यक्ति अर्थात न्यायाधीशले उनको नाम सोधेका रहेछन् ।
दुई हात जोडेर नमस्कार गर्दै उनले भने- ‘मेरो नाम सन्तोष महतो हो । ’
उनले पहिलो पटक यति निडरताका साथ आफ्नो परिचय दिएका थिए । त्यो पनि अदालत परिसरमा । अबोध १२ वर्षका सन्तोषका लागि अदालतको त्यो दृश्य नितान्त फरक थियो । तराईका फाँटमा बुवाआमासँग माटोका डल्ला फुटाएका, हिलोमा धान रोपेका, गहुँका वालाहरुमा भुलेका, भैंसीहरुलाई नुहाएका र साथीसँग माटो र खोलामा डुबुल्की मारेका महतोले जीवनमा पहिलो पटक अदालत देखेका थिए । त्यो पनि संयोगले ।
किसान परिवारमा जन्मेका महतोले त्यो दिन अंशवण्डा मुद्दामा भएको बहस केही बुझेनन् । न त प्रहरी, वकिल र न्यायधीश राम्रोसँग चिने । तर, सबैले वकिल र न्यायधीसलाई सम्मानपूर्वक गरेको व्यवहार देखेर उनको मनमा पर्यो, ‘सबैभन्दा ठुलो वकिल न्यायाधीश पो हुने रहेछ । ’
उनी विगतका ती दिन सम्झन्छन्, ‘त्यो रात जुनको उज्यालोमा मैले उहाँहरु जस्तो हुन के गर्नुपर्छ भनेर सोचिरहें । ’
त्यही दिनदेखि नै उनी न्यायको क्षेत्रमा काम गर्न प्रेरणा आफूमा मिलेको बताउँछन् । न्यायाधीशले नाम सोधेपछि त झन् उनको मनमा एक किसिमको तरंग नै पैदा भयो।
उनी भन्छन्, ‘म जस्तो किसानको छोरालाई त्यो प्रश्नले उहाँ जस्तै न्यायको मुर्ति कसरी बन्ने भन्ने प्रश्न मनमा उव्जिएको थियो ।’
समय वित्दै गए । महतो स्कुल जान्थे घर आउँथे, कहिलेकाँही खेतमा आमावुवालाई सघाउँथे । तर आफूपनि न्यायको क्षेत्रमा कसरी प्रवेश गर्ने भनेर दैनिकजसो सोचिरहन्थे । जो भेटेपनि त्यही बारेमा सल्लाह लिन्थे । यसैबिच उनको सम्बन्ध उनकै वरिपरि बस्ने तत्कालिन समयका अधिवक्ता खेमराज शर्मासँग भयो ।
गाउँमा पढ्न रुचाउने, मिहेनती र जेहेन्दार महतोलाई शर्माले एसएलससी पछि के पढ्ने के गर्ने भनेर सरसल्लाह दिइ रहन्थे ।
बाल्यकालमा अदालतमा देखेको त्यो दृश्य अनि शर्माबाट प्रभावित महतोले आफु पनि वकिल बन्न कानुन पढ्ने निधो गरे ।
२०५१ मा एसएलसीमा राम्रो अंक ल्याएर उनी पास भए ।
त्यो दिन फलामे ढोका पार गरेर आफ्नो सपना पूरा गर्ने नयाँ ढोका खुलेको दिन थियो उनका लागि । उनको सफलतामा परिवार, गाउँ र समाजमा खुसी छाएको थियो । उनको परिवारमा पाँच जना दाजुभाई छन् । पाँच दाजुभाइ मध्ये उनले मात्र पढ्नमा रुची देखाए । र त्यसमा उनले सफलता पनि हासिल गरे । जुन महतो परिवारका लागि खुसीको कुरा थियो ।
यस्ता अनेक बाधा र अवस्था चिरेर महतोले फलामे ढोका पार गरे । पार पनि किन नगरुन, उनको सपना जो थियो । न्यायको क्षेत्रमा पाइला टेकेर आफ्नो, परिवार र समाजको सेवा गर्ने ।
जीवनकै विशेष दिनमा सबैले उनलाई बधाइ दिए । तर त्यो खुसी साट्न सिधै उनै छिमेकी शर्माको घर गए ।
उनले पहिलो वाक्यमै भने- ‘सर मैले एसएलसी पास गरें । त्यसपछि उनले सोधे- अब मैले के पढ्ने कहाँ जाने ? हजुरले बाटो देखाइदिनुस् । ’ उनले हौसिँदै यो प्रश्न गरेको सम्झन्छन् ।
उनले भित्रै मनदेखि कानुन नै पढ्ने सोच बनाइसकेका थिए । तर, पनि उनी आफ्नो गुरुको मुखबाट नै सुन्न चाहन्थे, ‘सन्तोष तिमी कानुन पढ । ’ उनले शर्मालाई मनमनै आफ्नो गुरु मानिसकेको थिए । किनकी गुरुले नै बाटो देखाउने हो भन्ने कुरा स्कुलमा जानेका थिए उनले ।
शर्माले उनको काँधमा हात राख्दै भने ‘सन्तोष तिमी ल पढ । पढ्दै काम गर्न पाउँछौ । ’
हो, त्यही सुन्न चाहन्थे उनी ।
एकातिर एसएलसी जस्तो फलामे ढोका पास गरेको र अर्कोतिर कानुन पढ्ने सपनाले सार्थकता पाउने कुराको खुसीले गदगद थिए महतो । आफुले देखेको सपनाको बाटोमा पहिलो पाइला चाल्दै गर्दा आँसुका दुई चार थोपा आँखाबाट चुहिएको थाहै पाएनन् उनले ।
तर ती आँसु दुखका थिएनन् ।
ती आँसु त दुखका ती दिन सम्झेर बगेका थिए, जहाँ आमाबुवाले खेतमा पसिना चुहाएर महतोलाई लगातार पढ्न प्रेरित गरिरहे । दाजुभाईसँग खेल्न जान मन मारेर कपि र कलम समातेर आफुले गरेको मिहेनत सम्झेर झरेका थिए । अनि उनको त्यो दुई थोपा आँसु अब आमाबुवालाई पढ्दै काम गरेर थोरै भएपनि आर्थिक सहयोग गर्न सक्छु की भन्ने भविष्यका दिन सम्झेर झरेका थिए ।
उनी भन्छन्, ‘मैले मिहेनत गरेर पढ्नु नै थियो, पढेर पैशा कमाउँदै घरको आर्थिक अवस्था सुधार गर्नु नै थियो । यो बाहेक मेरो अर्को विकल्प थिएन । ’
महतो जनकपुरमा इन्टरमिडियट ल मा भर्ना भए । त्यसपछि उनले पढ्दै धनुषा जिल्ला अदातलबाट लेखापढीको प्रमाणपत्र लिए । यो उनको लागि अर्को युद्ध जितेको जस्तो भएको थियो । थोरै थोरै पैशा कमाउँदै पढ्दै गर्दा संर्घषका ती दिनहरु सम्झेर उनलाई अझै पनि गर्वले छाती फुल्छ ।
उनी भन्छन्, मैले दुख गरेर पढें, सँगसँगै काम गरें । मैले जे रोजेको थिँए त्यहीँ गरे । मलाई यसमा गर्व छ ।
उनलाई आफ्नो काम र पढाइमा जति गर्व छ त्यो भन्दा बढी उनको आमावुवा, दाजुभाई, परिवार, समाज र राष्ट्रलाई छ ।
उनले लगातार आइएल पनि पास गरे । अब व्याचलर पढ्नु थियो । व्याचलर पढ्न उनी काठमाडौं पढ्ने की राजविराजमा दोधारमा परे । घर पाएक भनेर उनले राजविराज नै रोजे ।
उनी सम्झिन्छन्, ‘आफ्नै ठाउँमा पढ्दै काम गर्न पाउने सोचले मैले राजविराजमा भर्ना गरें । ’
पढ्दै काम गर्ने सोचले उनी काम खोज्न गए । तर सोचेको जस्तो कामको अवसर उनले पाएनन् ।
यता भौतारिए, उता भौतारिए तर कामको भविष्य उनले देखेनन् ।
महतोले सोचे, ‘यसरी ३ वर्ष विताउँदा पढ्न मात्र पाइने र काम पाइएन भने त गारो हुन्छ । ’
एक महिना मात्र भएको थियो उनले भर्ना गरेको व्याचलरमा । फेरि काठमाडौंमा काम पाउने सम्भावना पनि हुने र भविष्य पनि उज्वल हुने सोचले उनले त्यहाँबाट नेपाल ल क्याम्पसमा भर्ना सारे ।
उनी काठमाडौं आए लगत्तै वरिष्ठ अधिवक्ता रमेश कुमार कार्कीको ल फर्ममा काम गर्न सुरु गरे । यसपछि महतोको लागि काम नै पढाइ भयो ।
महतो भन्छन्, ‘रमेश सरको 'सुपरिभिजन'मा काम गर्न पाउनु मेरो लागि ठूलो अवसर थियो । मैले त्यो अवसरलाई खेर जान दिइन । ’ उनले काम त पहिले देखि नै गरिरहेका थिए । यहाँ आएपछि उनको काममा अझ निखार आयो । उनले पहिलेको भन्दा अझै बढी मिहेनत गर्न थाले । उनीसँग मिहेनत नगरि बस्ने अर्को विकल्प पनि थिएन । घरको आर्थिक अवस्थामा सहायता गर्नु, आफ्नो पढाई र खानावस्ने खर्च जुटाउने जिम्मा उनको आफ्नै थियो ।
काम गर्दै जाँदा २८ साउन २०५६ मा उनले अभिवक्ताको प्रमाणपत्र पनि पाए । यो उनको लागि जीवनको अर्को सफलता थियो । यसअघि लेखापढीको प्रमाणपत्र पाएका उनले अव अदालतमा वहस गर्ने प्रमाणपत्र पनि पाए । जुन महतोको लागि वकालत गर्ने पहिलो खुड्किलो थियो । लगातारको मिहेनत, पढाइ र काम गर्दै उनले २०६० सालमा अधिवक्ताको लाइसेन्स प्राप्त गरे ।
सफलताको अर्को खुड्किला पार गर्दा महतो निकै गद् गद् भए । परिवारमा फोन गरेर सुनाए ।
‘मैले लाइसेन्स परीक्षा पास गरें नि। ’
आफ्नो सफलताको कथा सुनाउँदै गर्दा उनको घाँटी अवरुद्ध भयो अनि मुटुको धड्कनको गति पहिलेको भन्दा तेज थियो । तर उनी यो खुसीको खबर सुनाउन रोकिएनन् ।
उनले भने, ‘आमा, मेरो तपाइको मात्र होइन हाम्रो समुदायको नै सपना पूरा भएको छ । मैले अधिवक्ताको लाइसेन्स परीक्षा पास गरें । ’
छोरोको प्रगतिको खबर सुनेर उनको परिवार दंग थिए ।
‘फोनबाटै आर्शिवादका हातहरु मेरो शिरमा वर्षिएको महसुस गरें । ’ महतो सुनाउँछन् ।
उनका लागि बाल्यकालमा अदालतको त्यो दृश्य, कालो कोट लगाएका वकिल र न्याय लागि वकालत गर्ने देखेको सपना पुरा भएको दिन थियो । उनलाई आफ्नो मिहेनत र इमान्दारितामा पुर्ण विश्वास थियो । त्यही विश्वास र अविरल मिहेनतले उनी यहाँसम्म आइपुगे । यो उनको लागि ठुलो युद्ध जिते बराबर थियो ।
नेपाल सरकारले नेपालको संविधानको धारा ३० को उपधारा (१) को खण्ड (क) को अधिनमा रही जनगणना २०६८ अनुसार जातीय विवरणमा उल्लेख भए अनुसार मधेसी आयोगबाट नेपालमा मधेशी समुदायको थर सूचीकरण अध्ययन प्रतिवेदन, २०७८ अनुसार अल्पसंख्यक सूचीमा नुनीया जातिको संख्या ०.२७ प्रतिशत रहेको छ । महोत्तरी जलेश्वरमा जन्मिएका महतोले यसै नुनीया जाती अन्तर्गत अधिवक्ताको प्रमाणपत्र प्राप्त गरेर बहस गर्ने पहिलो अधिवक्ता बने ।
अल्पसंख्यक समुदायबाट आएर पनि राज्यबाट पाउने कुनै पनि अधिकार र सुविधा उपभोग नगरि उनले आफ्नो क्षमता र मिहेनतको उदाहरण पेश गरे । उनको लागि सफलताको यो पहिलो सिँढि थियो । अब पुरै भर्याङ चढ्नु थियो ।
महतोले यहाँबाट न्यायको क्षेत्रमा औपचारिक यात्रामा आफूलाई सर्मपित गरे ।
२०६० असारमा अधिवक्ताको लाइसेन्स लिएका महतोले संयोगबस दुई महिना अर्थात ५ भदौ २०६० मा सर्वोच्च अदालतमा जग्गासम्बन्धी मुद्धामा बहस गर्ने अवसर प्राप्त गरे ।
यो उपलब्धी वकिल बन्ने सपना बुनेका महतोको लागि सुनौलो थियो । कालो कोट, सेतो सर्ट अनि औपचारिक पहिलो बहस । त्यो क्षण उनले सधैं सम्झन्छन् ।
उनी भन्छन्, ‘लाइसेन्स लिएको दुई महिनामै सर्वोच्च अदालतमा बहस गर्न पाउनु मेरो लागि निकै ठूलो अवसर र चुनौती थियो । ’
लाइसेन्स लिएको दुई महिनामै आफ्नो नाम अधिवक्ताको रुपमा सर्वोच्च अदालतमा लेखाउन पाउनु आफ्नो लागि ठूलो अवसर भएको उनी सम्झन्छन् ।
उनी भन्छन्, ‘मेरो लागि त्यो पल जीवनकै सुनौलो पल हो । ’
उनले त्यसपछि पछाडि फर्केर कहिल्यै हेर्न परेको छैन । यसपछि सुरु हुन्छ, गरिब परिवारमा जन्मेका एक मिहेनती, इमान्दार र संर्घषशील युवाको न्यायको क्षेत्रमा औपचारिक यात्रा ।
आज उनी सिन्हा वर्मा ल कन्सर्नमा पाँच जना मध्य एक जना पार्टनरको रुपमा काम गर्छन् । सिन्हा वर्मा ल कन्सर्नमा बाणिज्य सम्बन्धी कानुनी मुद्धा हेर्ने फर्मको रुपमा चर्चित छ ।
उनले आफूलाई कानुनको क्षेत्रमा योग्य र अब्बल बनाउनका लागि यसअघि विभिन्न धेरै संस्थामा कानुनी सल्लाहाकारको रुपमा काम गरे । विगत २१ वर्षदेखि महतो बुद्ध एयरको कानूनी सल्लाहाकारको रुपमा कार्यरत छन् । संस्थाले आवश्यक परेको खण्डमा महतोसँग कानुनी परामर्श माग्न सक्छ तर त्यो बाहेक उनी आफ्नै बाणिज्य मुद्दाहरुमा व्यस्त हुन्छन् ।
कानुनको क्षेत्रमा काम गर्दाका सुरुवाती दिनहरु भने पक्कै सहज थिएन । त्यो असहजताका बावजुत उनी आफ्नो कदममा कहिल्यै पछाडी फर्केनन् । न्यायको पक्षमा वकालत गर्दै आएका महतोको सबैभन्दा ठूलो परीक्षाको घडी त आउनै बाँकी थियो ।
महतोको चर्चा त्यतिबेला चुलियो जतिबेला तत्कालीन राजा ज्ञानेन्द्र शाहले १९ माघ २०६१ मा घोषणा गरेको शाही आयोगको औचित्यमाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरे ।
राजाले सम्पुर्ण शक्ति आफ्नो हातमा लिएर देशमा संकटकाल लागु गराएका थिए । जनताको मौलिक हक खोसिएको थियो भने राजनीतिक पार्टीका नेताहरुलाई नजरबन्द गर्ने, जेल हाल्ने काम भएको थियो ।
राजाले भ्रष्टाचार नियन्त्रण गर्ने नाममा शाही आयोग गठन गरेर नेता तथा कार्यकर्तालाई धमाधम जेल हालिरहेको थियो । यस्तो संकटकालीन अवस्थामा महतोले एउटा अनौठो र साहसी कदम चलाए जसले उनको चौतर्फी चर्चा भयो ।
सर्वोच्चमा महतोले निवेदन त पेश गरे । तर सर्वोच्च प्रशासनले श्री ५ को नाममा प्रश्न उठाउन नपाउने भन्दै दरपीठ गरिदियो ।
उनी भन्छन्, ‘अदालतको त्यो कदमले मेरो हौसलामा केही क्षण त ब्रेक लागेको थियो । तर म रोकिइन म पुन: अगाडि बढे । ’
महतोले दरपिठ विरुद्ध अर्को निवेदन पेश गरे । यो पटक भने उनको दरपिठ विरुद्धको निवेदन सर्वोच्चका तत्कालिन न्यायाधीश मीनबहादुर रायमाझीको एकल इजलासमा पेश भयो । रिटमा संबैधानिक प्रश्न उब्जेकाले दर्ता गर्नु भन्ने आदेश आयो ।
आदेशपछि उनको रिट निवेदन दर्ता भयो । यो रिट निवेदन दर्ता गर्न उनले अर्को फलामे गेट पार गर्नु परेको थियो ।
उनी भन्छन्, ‘यो समय मेरो मनस्थिति कस्तो थियो मलाई मात्र थाहा छ । तर पनि मैले हार मानिन । न्यायको लागि मैले मेरो बुलन्द आवाज उठाउन हर प्रयास गरें । ’
कसैले राजाको कदम विरुद्ध बोल्न पनि नसक्ने अवस्थामा न्यायको पक्षमा उभिएर महतोले आफ्नो राज्यप्रतिको दायत्वि निर्वाह गर्न ज्यान नै जोखिममा राखे । केही वर्ष अगाडि धनुषा जिल्ला अदातलमा न्यायाधीश अगाडी निर्धक्क साथ आफ्नो परिचय दिएका महतो आज पनि निर्धक्कसँग देशको राजाको असंबैधानिक कदम विरुद्ध आफ्नो तर्क पेश गर्छन् ।
यो साहसी कदम चाल्न उनलाई आफ्नो पेशा प्रतिको इमान्दारिता र राज्यप्रतिको ओतप्रोत प्रेमले हिम्मत दिएको थियो ।
उनी भन्छन्, ‘बरु एक्लै लड्छु तर न्यायको पक्षमा बोल्न डराउँदिन भन्ने सोचेर आफुले आफुलाई उर्जा दिईं रहें । ’
उनी यो रिट पनि खारेज हुने पो हो की भनेर डराइरहे । यो विषयमा सर्वोच्चमा धेरै पटक बहस भए । उनले बहसमा कयौं तथ्य, प्रमाण कानुन पेश गरिरहे । र, लगातारको प्रयास अनि न्यायको लागि गरिएको साहसिक कदम र तार्किक बहसले अन्तत न्याय पायो । अर्थात, सर्वोच्च अदालतले तत्कालिन राजा ज्ञानेन्द्र शाहको शाही आयोग गठन खारेज गरिदियो ।
अन्यायमा कसरी न्याय भर्न सकिन्छ यसको उदाहरण बने सन्तोष महतो । देशमा कानुन र विधिको शासन लागु गर्न उनले जुन भूमिका खेले त्यो अतुलनीय छ । यो जीत उनको मात्र थिएन । यो त सत्य, न्याय अनि विधिको जीत भएको थियो ।

जसले महतोलाई न्यायको क्षेत्रमा एक साहसी र अब्बल युवा अधिवक्त्ताको रुपमा स्थापित गरिदियो ।
उनी भन्छन्, ‘यो मुद्धा मेरो लागि निकै महत्वपुर्ण थियो । जुन बेला बोल्न पनि बन्देज जस्तो थियो । त्यो बेला शाही आयोग खारेज हुनु न्याय अनि विधिको जीत भएको थियो । यो मेरो राष्ट्रप्रतिको उच्च प्रेम र इमान्दारितको फल हो । ’
त्यो मुद्दाले मेरो धेरै दिनदेखि निन्द्रा बिथोलिएको थियो । अदालतको त्यो दिनको फैसलाले मेरो आखाँले शितलता महसुस गर्यो ।
उनले भने, ‘त्यो रात मैले धेरै वर्षपछि मिठो निन्द्राको महसुस गरें । किनकी यो मेरो मात्र होइन सिंगो न्यायप्रेमी जनताको जीत थियो । ’
तर उनी यसै मुद्धामा मात्र सिमित भएनन् । लगातार विभिन्न विषयमा महतोले आफुलाई अब्बल सावित गर्दै गए ।
महतोले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषयमा पनि विभिन्न रिट पेश गरेका थिए । प्लाष्टिकको झोला विक्रि वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाइ पाउँ भनि २०६० सालको रिटमा सर्वोच्चले सरकारको नाममा परमादेश नै जारी गरेको थियो । यो उनको न्यायको क्षेत्रमा अर्को सफलता हो ।
यसैगरि कारागारमा रहेका थुनुवा वा कैदीका आश्रित बालबाललिकालाई छुट्टै ठाउँमा राख्नुपर्ने भन्दै गरेको रिटमा भने सवोच्चले थुनुवामै राख्न पाउँछ भन्ने आदेश दियो । यो आदेशले उनलाई केही झ्टका दिएको थियो ।
उनी भन्छन्, ‘आमाबुवाले गरेको अपराधमा एउटा अबोध बालकलाई त्यसरी सँगै राख्दा कस्तो खालको मनोवैज्ञानिक असर पर्छ भन्ने विषयले मलाई धेरै सताएको थियो । ’
तर उनले त्यो विषयमा हार मानेनन् र फेरि बाल अदालत वा बाल इजलास गठन हुनुपर्ने मागसहित उनले सर्वोच्चमा रिट निवेदन पेश गरे । उनले जुन उदेश्यले रिट निवेदन पेश गरेका थिए त्यसको दुई दशक पछि अहिले बाल अदालत गठन भएको छ । यो सफलताको देन पनि उनलाई नै जान्छ ।
उनी भन्छन्, ‘जुन उदेश्यले मैले रिट दर्ता गरेको थिएँ त्यो विषय अहिले कार्यन्वयनमा आउँदा धेरै खुसी लागेको छ । ’

यसैगरि उनले गरेको अर्को स्मरणीय काम भनेको २०६२ माघमा चक्रपथभित्र सभा, जुलुस प्रर्दशनमा रोक लगाएको विषयमा रिट दाएर गरेका थिए । सो विषयमा सरकारको नाममा कारण देखाऊ आदेश जारी भएपछि सरकारले फिर्ता लिएको थियो ।
उनी आफ्नो पेशालाई एक कर्तव्यका रुपमा लिन्छन् । जस्तो सुकै परिस्थितिमा पनि न्याय मर्न दिनु हुँदैन भन्ने मान्यता राख्छन् महतो । संवैधानिक तथा कानुनी प्रश्नका विभिन्न सार्वजनिक हक तथा सरोकारका विषयमा महतोले धेरै रिट निवेदन पेश गर्दै वहस गरेका छन् ।
उनी भन्छन्, ‘सार्वजनिक हक र अधिकारको विषयमा बहस गर्दा राष्ट्र र जनताको सेवामा समर्पित भएको अनुभव हुन्छ । यसले मलाई आत्मसन्तुष्टि दिन्छ । ’
उनी बहस गर्न जति योग्य अधिवक्ता हुन् त्यति मानव सेवामा पनि सर्मपित छन् । सानैबाट पारिवारीक जिम्मेवारी बुझेका महतोले आफ्नो सामाजिक र व्यवसायिक जिम्मेवारी निभाउन पनि कहिल्यै पछि परेनन् ।
किशान परिवारमा जन्मेका महतोलाई राम्रोसँग थाहा छ कमजोर आर्थिक अवस्थाका दुखहरु । पैशा नहुँदा पढ्नका लागि गर्नुपर्ने संघर्षहरु, एकजोर चप्पल किन्न खल्ति छाम्नुको पीडा । छोरोछोरी हुर्काउन साहुको शरण पर्नुपर्ने अवस्था ।
त्यस्तो अवस्थाबाट आफै गुज्रेका उनी झन् मुद्धा मामिला परेपछि खर्च गर्नुपर्ने अवस्थामा गरिब तथा विपन्न परिवारको मानसिकता के हुन्छ उनले बुझेका छन् । यसैकारण उनी पीडितको सेवा गर्न कहिल्यै पछि हट्दैनन् ।

उनी भन्छन्, ‘म आफ्नो जातीको लागि मात्र होइन सबै असहाय र पीडितको पक्षमा काम गर्न मन पराउँछु । आवश्यक परेको खण्डमा आर्थिक सहयोग, परामर्श सहयोग वा बसहमा सहयोग गर्न कहिल्यै पछि पर्दिन । ’
मुद्धा मामिला गर्न पैशा छैन भन्ने गरिब र पीडितसँग कहिल्यै पैशा लिन्नन उनी । यसमा उनलाई आफ्नो सामाजिक उत्तरदायित्व महसुस हुन्छ ।
उनी जुन समाज र जातीबाट पढेर यहाँसम्म आए त्यो अरुको लागि दिवा सपना सरह हो । किनकी त्यो अल्पसँख्यक समाजमा शिक्षा भनेको हुनेखानेको लागि सहज विकल्प र उनीहरुको लागि एक सकस हो । नुनीया जाती बालुवाबाट नुन बनाउने काममा पोख्त भएकाले परापुर्वकालमा नुन बनाउनको लागि उनीहरुलाई नेपालमा भित्राइएको कथन छ । विस्तारै उनीहरुले बालुवाबाट नुन बनाउने पेशा छाड्दै कृषि पेशा रोजे र आज पनि यो समुदाय कृषि पेशामा नै निर्भर छ ।
किशानका छोरो भइकन जुन संर्घष र मिहेनतबाट महतोले आफ्नो लागि यो बाटो रोजे त्यो बाटो अरुको लागि सहज यात्रा छैन । उनी समाजको लागि एउटा त्यस्तो उदाहरण हुन् जसलाई देखेर धेरै आमावुवा आफ्नो छोराछोरी पढाउन नसकेकोमा पछुतो मान्छन् ।
अनि कयौं युवा उनीसँग भविष्यको परामर्शको लागि धाउँछन् । यसमा उनी सबैलाई पढ्न र पढेर अगाडीको बाटो पहिल्याउन सहयोग गर्छन् ।
उनी भन्छन्, ‘पढाई मिहेनत र इमान्दारिता नै ठूलो कर्म हो । ’
पढ्ने र काम गर्ने बाटोमा उनले आफ्नो विवेक, तर्क र तथ्यलाई उपयोग गरे । तर उनले कहिल्यै आफूँले राज्यको आरक्षित व्यवस्थाको उपयोग गरेनन् । यस विषयमा उनको विचार फरक छ ।
‘राज्यले अल्पसंख्यकको उत्थान र राज्यको निकायमा उनीहरुको पहुँच चाहन्छ भने राज्यले समुदायस्तरसम्म पुगेर आवश्यकता भएकाहरुको खोजी गरेर संरक्षणको अधिकार दिनुपर्छ,’ उनी भन्छन्, ‘त्यो पनि सिमित अवधिका लागि ।’
उनी त्यो सिमित अवधिमा अल्पसंख्यकले आफुलाई सवल र सक्षम बनाएपछि त्यो सिट अरुले पाउनुपर्ने मत राख्छन् । उनको यस्तै उच्च र स्वच्छ विचारले नुनीया जातीको समुदाय र अन्य पीडितका लागि उनी प्रेरणाका स्रोत हुन् ।
‘सन्तोष महतो हुँदासम्म हामीमाथि कुनै अन्याय हुन्न भन्ने उनीहरुको सोँच कायम गर्न सकुँ । ’ उनी भन्छन् ।
उनी सबैको साझा र अन्तिम थलो भनेको श्री पशुपतिनाथको यात्रा हो भन्दै सधैं राज्य र समाजप्रति उत्तरदायी भएर नैतिकवान हुनुपर्ने मान्यता राख्छन् ।
उनी भन्छन्, ‘मान्छेको अन्तिम यात्रा श्री पशुपतिनाथ हो । ’