काठमाडौं । गोरखा मिडिया लगायतमा कम्पनीमा सेयर खरिद बिक्री गर्दा कानूनबमोजिम पेश हुने भुक्तानीका साधन र उपकरणहरू पूर्ण नभई किर्ते कागजकै आधारमा खरिद बिक्री भएको पाइएको हो । यसो हुँदा भुक्तानी प्रक्रिया पूर्ण भएको यकिन गरी र सोबमोजिमको करसमेत तिर्ने सम्बन्धमा बाध्यकारी प्रबन्ध गर्न समितिले सरकारलाई सिफारिस गरेको छ । यसैगरी स्वेट सेयर सम्बन्धी कानूनी प्रबन्धबारे अध्ययन गरी आवश्यक र उपयुक्त प्रबन्ध गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराउन नेपाल सरकारलाई समितिले सिफारिस गरेको छ ।
गोरखा मिडियाका प्रबन्ध निर्देशक लामिछानेको नाममा रहेको ग्यालेक्सीको १५ प्रतिशत सेयर अध्यक्ष राईमा हस्तान्तरण हुँदा रविको खातामा १ करोड ८० लाख रूपैयाँ जम्मा गरिएको भौचर देखाएर सेयर हस्तान्तरण भएको थियो । रकम खातामा जम्मा नै नगर्ने उद्देश्यका साथ झुटा विवरण उपलब्ध गराएर राईको नाममा सेयर हस्तान्तरण गरिएको हो ।
कम्पनी ऐनको दफा १६० (क) मा कम्पनीको कुनै सञ्चालक वा पदाधिकारीले कम्पनीको कुनै कागजपत्रमा बदनियत वा द्वेषपूर्ण लापरवाहीसाथ कुनै झुटा कुरा उल्लेख गरी कम्पनी वा कुनै व्यक्तिलाई हानी नोक्सानी पु¥याएको भए त्यस्तो सञ्चालक वा पदाधिकारीलाई ५० हजार रुपैयाँसम्म जरिवाना वा २ वर्षसम्मम कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
कम्पनी ऐनको सो व्यवस्था अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेलाई दुई वर्षसम्म कैद सजाय हुन सक्ने देखिएको हो । ग्यालेक्सी फोरके टिभीको सेयर जिबी राईको नाममा हस्तान्तरण गर्दा कम्पनी रजिष्ट्रार कार्यालयलाई झुक्याएको पाइएको हो ।
लामिछानेले सहकारीको विषयमा छानबिन हुनु अघि आफूले स्वेट शेयर पाएको भनेको थिए । कम्पनी ऐनको दफा ३१ को उपदफा २ ले कम्पनीमा पैसा नबुझाए पनि सेयरधनी बन्न सक्ने परिकल्पना गरेको छ । ‘सेयर बाँडफाँट हुँदा कुनै सेयरको मूल्य नगद बाहेक अन्य तवरबाट पूर्ण वा आंशिक रुपमा भुक्तानी गरिएको भएमा सेयर बाँडफाँटबाट सो सेयरमा हक प्राप्त गर्ने व्यक्तिलाई सेयर बिक्री वा सेवाको करार वा अन्य के कस्तो के प्रतिफल बापत सेयर बाँडफाँट भएको हो सो सम्बन्धी लिखत र बाँडफाँट गरिएको सेयर संख्या तथा त्यस्तो सेयरको अंकित मूल्य र कति हदसम्म सेयरको मूल्य चुक्ता भएको मानिने हो सोको विवरण समेत कम्पनीले कार्यालयमा पठाउनु पर्नेछ,’ ऐनको दफा ३१ को उपदफा २ मा भनिएको छ । तर, लामिछानेले स्वेट शेयर लिएपछि कर तिरेको नतिरेको एकिन छैन । स्वेट सेयरको रुपमा कम्पनीमा सेयर प्राप्त गर्न जति रकमको सेयर प्राप्त गर्न लागिएको हो त्यसलाई आयमा देखाउँदै कर तिर्नु पर्छ ।
लामिछानेले गोर्खा मिडियामा १ करोड ८० लाख रुपैयाँ बराबरको सेयर प्राप्त गर्दा १ करोड ८० लाख रुपैयाँलाई आय मान्दै आयकर अनुसार १ करोड ८० लाख रुपैयाँको कर तिरेको भए स्वेट सेयर प्राप्त गरेको मानिन्थ्यो । तर, उनको सेयर लगत किताबमा सेयरको मूल्य नगद बाहेक अन्य तवरबाट पूर्ण वा आंशिक रुपमा भुक्तानी गरिएको उल्लेख छैन । आयकर ऐन अनुसार १ करोड ८० लाख रुपैयाँलाई आय मान्दा ५० लाख रुपैयाँ भन्दा बढी आयमा कानुन अनुसार ३९ प्रतिशतसम्म कर तिर्नु पर्दथ्यो । तर, उनले कर तिरेका छन् या छैनन् भन्ने विषयमा पनि छानबिन हुनेछ ।