काठमाडौँ । अन्तिम समयमा सुक्रिया मियाको निर्णायक गोलमा नेपाली युवा टोलीले एएफसी एसियन कप छनोटको दोस्रो खेलमा पहिलो जित दर्ता गरेको छ ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ रगंशालामा भएको समूह चरणको दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई १–० को गोल अन्तरले पराजित गर्दै छनोटमा पहिलो जित निकालेको हो ।
पहिलो जित सँगै नेपालले अघिल्लो चरण पुग्ने सम्भावना जीवित राखेको छ । खेलको निर्धारित समयको अन्तिम मिनेटमा सुक्रियाले गोल गर्दै नेपाललाई महत्वपूर्ण ३ अंक दिलाएकी थिइन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमो ९० औँ मिनेटमा सुक्रियाले गोल गर्न सफल भएकी थिइन् ।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी सुक्रियाले गोल गरेकी हुन् । जितसँगै नेपालले अंक तालिकामा ४ अंक जोडेको छ । लगातार दोस्रो खेलमा हार भोगेको साउदीको भने अघिल्लो चरण पुग्ने सम्भावना सकिएको छ ।
नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी गरेको थियो । साउदीले भने पहिलो खेलमा दक्षिण कोरियासँग १५–० को फराकिलो हार व्यहोरेको थियो ।
आजै हुने दोस्रो खेलमा घरेलु टोली भुटान र दक्षिण कोरिया भिड्दैछन् । समूह चरणको अन्तिम खेलमा आइतबार कोरियासँग खेल्ने तालिका छ ।
एसियन कप छनोटमा नेपाल रहेको समूहमा आयोजक भुटानसहित उत्तर कोरिया र साउदी अरब रहेका छन् । यो समूहमा रहेको मंगोलियाले भने नाम फिर्ता लिएको छ । छनोटको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष थाइल्यान्डमा हुने एएफसी यू–२० महिला एसियन कपमा स्थान बनाउनेछ ।
छनोटमा सहभागी ३२ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । ८ समूहका विजेता टोली, उत्कृष्ट ३ उपविजेता टोलीले एसियन कपमा स्थान बनाउनेछन् ।