काठमाडौं । विशेष अदालतले मधेस प्रदेशको ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको अख्तियारको दाबीलाई आंशिक ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले ४ दिनदेखि लगातार सुनुवाइपछि बिहीबार फैसला गरेको हो ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०७९ साउन १८ मा तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसालसहित ८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तीमध्ये प्रमुख सचिव भुसाललाई ३ महिना कैद ८ लाख १० हजार रूपैयाँ जरिवाना हुने फैसला विशेष अदालतले गरेको छ । अर्का अभियुक्त सीडीई भगवान झालाई ३ महिना कैद र १० हजार जरिवाना तोकिएको छ ।
सिँचाइ विकास डिभिजन कार्यालय, जनकपुरधाम, धनुषाका तत्कालीन प्रमुख सीडीई भगवान झा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खरिद विज्ञको साथै बोलपत्र मूल्यांकन समितिको सदस्य थिए । मधेसमा छात्रा शिक्षा प्रवर्धनका लागि बाँड्ने भनेर करिब १७ हजार साइकल किन्दा १० करोड ३३ लाख रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो । यो सबै रकम ८ जना प्रतिवादीबाट असुल गरी त्यति नै जरिवाना तथा कैद हुनुपर्ने अख्तियारको दाबी थियो ।
विशेष अदालतले भने भुसाल र झाबाहेकका सबै अभियुक्तलाई सफाइ दिएको छ ।