बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • अमेरिकामा अभियुक्तलाई नाइट्रोजन सुँघाएर मृत्युदण्ड दिइयो, के थियो अपराध ?


    हुलाक प्रेस

    • शुक्रबार, माघ १२ २०८००२:२९
    अमेरिकामा अभियुक्तलाई नाइट्रोजन सुँघाएर मृत्युदण्ड दिइयो, के थियो अपराध ?

    काठमाडौं । संयुक्त राज्य अमेरिकाले नाइट्रोजन सुँघाएर एक कैदीलाई मृत्युदण्ड दिएको छ। अमेरिकाको एलाबामा राज्यमा हत्याको आरोपमा दोषी ठहर एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको हो।

    बिबिसीका अनुसार यो विधीबाट विश्वमै पहिलो पटक मृत्युदण्ड दिइएको हो। यसअघि अमेरिकाको सर्वोच्च अदालतमा ती बन्दीले आफूलाई पहिलो पटक नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिन लागिएको हुँदा त्यसलाई रोक्न गरेको निवेदन अस्वीकार गरिदिएको थियो।

    केनेथ युजिन स्मिथका वकिलहरूले सर्वोच्च समक्ष ‘क्रूर र अस्वाभाविक’ सजाय भन्दै रोक्न न्यायाधीशहरु समक्ष अपिल गरेका थिए। तर उनीहरूको निवेदन दुई पटक न्यायाधीशहरूले अस्वीकार गरेपछि उनलाई नेपाली समय अनुसार बिहीबार राती मृत्युदण्ड दिएको हो।

    विपक्षीहरूले नाइट्रोजन ग्यासले अनावश्यक यातना हुने र यदि त्यो चुहिएमा छेउछाउमा उपस्थित मानिसहरूलाई हानी पुग्ने तर्क गर्दै यस्तो विधी नअपनाउन आग्रह गर्दै आएका थिए।

    मृत्युदण्डको साक्षी बनाउन सञ्चारमाध्यमका पाँच सञ्चारकर्मीलाई गाडी चढाएर एट्मोरस्थित होल्मन करेक्शनल फ्यासिलिटीमा लगिएको थियो।

    साक्षीहरूका अनुसार मृत्युदण्ड दिन लाग्दा स्मिथले मानवताका लागि आजको दिन एक कदम पछि फर्किएको दिनका रुपमा टिप्पणी गरेका थिए। उनले भने ‘आज राति एलबामाले मानवतालाई एक कदम पछाडि धकेलिदिएको छ।’ उनले थपे ‘मलाई समर्थन गर्नुभएकोमा धन्यवाद। तपाईँहरू सबैलाई माया।’ त्यसपछि उनको मास्कभित्र नाइट्रोजन ग्यास छिर्न थालेपछि स्मिथ हाँसेको र आफ्ना परिवारजनप्रति माया देखाउन अलिकति निहुरिएको जनाइएको छ।

    के हो स्मिथको अपराध?
    सन् १९८८ को मार्चमा १,००० डलर पाउने आशमा एलिजाबेथ सेनेटको हत्या गरेको घटनामा स्मिथ र अर्का एक व्यक्ति दोषी ठहर भएका थिए। पैतालीस वर्षीया सेनेटलाई आगो बाल्न प्रयोग गरिने धातुका सामग्रीले कुटपिट गरिएको थियो अनि उनको छाती र घाँटीमा चक्कु प्रहार गरिएको थियो। विभत्स हत्यापछि त्यसलाई चोरीपश्चात् घटेको घटना जस्तो देखाउने प्रयास गरिएको थियो।

    ऋणमा डुबेका धर्मप्रचारक चार्ल्स सेनेटले बीमाको पैसा पाउने लोभमा श्रीमतीको हत्याको योजना बुनेका थिए। अनुसन्धान अघि बढ्दै गएपछि उनले आत्महत्या गरे। हत्यामा सामेल स्मिथका सहयोगी जोन फरेस्ट पार्करलाई सन् २०१० मै मृत्युदण्ड दिइसकिएको छ।

    अदालती सुनुवाइका समयमा स्मिथले हत्या हुँदा आफू त्यहाँ उपस्थित भएको तर हत्या गर्ने कार्यमा सामेल नभएको बताएका थिए। संयुक्त राष्ट्रसङ्घको मानवअधिकार उच्चायुक्तले स्मिथलाई ग्यास प्रयोग गरेर दिन लागेको सजाय यातना वा अन्य क्रूर, अमानवीय व्यवहारसरह हुने भएकाले त्यसलाई रोक्न आग्रह गरेका थिए।

    स्मिथका वकिलहरूले सर्वोच्च अदालतमा निवेदन दिँदै दोषीहरूलाई पटकपटक मृत्युदण्ड दिने प्रयास गर्नु भनेको ‘क्रूर तथा अस्वाभाविक’ सजायसम्बन्धी अमेरिकी संविधानको आठौँ संशोधनविपरीत हुने जिकिर गरेका थिए। स्मिथका वकिलहरूले नाइट्रोजन ग्यास प्रयोगको विधी ‘अपरीक्षित’ भएको भन्दै त्यसका अनपेक्षित परिणामबारे बोल्दै आएका थिए। तर एलाबामा राज्यका महान्यायाधीवक्ता स्टीभ मार्शलले उक्त विधिलाई ‘मृत्युदण्डको सम्भवत: सबभन्दा मानवीय विधि’ भनेका थिए।

     


    प्रतिक्रिया दिनुहोस