बिहीबार , असोज २९ गते २०८३
  • यो साता चर्चामा :
  • यू-१९ विश्वकपमा आज बंगलादेशसँग भिडदैछ नेपाल


    हुलाक प्रेस

    • बुधबार, माघ १७ २०८००८:१८
    यू-१९ विश्वकपमा आज बंगलादेशसँग भिडदैछ नेपाल

    काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज (बुधबार) बंगलादेशसँग खेल्दैछ। नेपाल र बंगलादेशबीचको खेल बुधबार दिउँसो १:४५ बजे सुरु हुनेछ। 

    विश्वकपको सुपर सिक्समा नेपालले बुधबार पहिलो खेल खेल्न लागेको हो। समूह चरणमा अफगानिस्तानलाई १ विकेटले हराएर नेपाल सुपर सिक्समा पुगेको थियो। 

    सुपर सिक्सको यात्रा तय गर्दासम्म नै महत्त्वपूर्ण उपलब्धि हासिल गरेको नेपाल बंगलादेशलाई पनि हराएर आफ्नो सनसनीपूर्ण यात्रालाई जारी राख्न चाहन्छ। 

    बुधबारको खेलमा नेपालले बंगलादेशलाई हराए पनि सेमिफाइनलको सम्भावना भने लगभग समाप्त भइसकेको छ। सुपर सिक्सको समूह ‘एक’ मा रहेका भारत र पाकिस्तानले पहिलो खेलमा जित निकालेपछि नेपालका लागि सेमिफाइनलको यात्रा समाप्त भएको हो। 

    सुपर सिक्सअन्तर्गत मंगलबार भएको पहिलो खेलमा भारतले न्यूजिल्याण्डलाई २१४ रनले पराजित गर्‍यो। यस्तै, पाकिस्तानले आयरल्याण्डलाई ३ विकेटले पराजित गर्‍यो। सुपर सिक्सको समूह ‘एक’मा भारत र पाकिस्तानको ६–६ अंक पुगेको छ। 

    समूह चरणमा नेपाल पाकिस्तान र न्यूजिल्याण्डसँग पराजित भएको थियो। समूह चरणमा भारत र पाकिस्तान सबै ३ खेल जितेका थिए। 

    विश्वकप खेलेका १६ टोलीलाई सुरुमा ४ समूहमा विभाजन गरिएको थियो। ४ समूहबाट शीर्ष ३ टोली सुपर सिक्समा पुगेका थिए। सुपर सिक्सको समूह ‘एक’मा भारत, बंगलादेश, न्यूजिल्याण्ड, पाकिस्तान, नेपाल र आयरल्यान्ड छन्। सुपर सिक्स ‘दुई’मा अस्ट्रेलिया, श्रीलंका, वेस्टइन्डिज, दक्षिण अफ्रिका, इंग्ल्यान्ड र जिम्बावे छन्। 


    प्रतिक्रिया दिनुहोस