काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबनि समिति बनाउन प्रमुख दलका नेताबीच बसेको बैठक बिना निष्कर्ष टुंगिएको छ।
शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकमा सहमति जुट्न नसकेको हो। असोज ५ गते आयोग गठन गर्ने विषयमा सात दलबीच दुई बुँदे सहमति भएको थियो। सहमति पत्रमा विदेशबाट इलेक्ट्रिक सिगरेटमा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको, मिति २०८० साउन २ गते ब्रेक-सुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुन मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिइ स्वतन्त्र र निष्पक्ष छानबिन गर्न आयोग गठन गरिने भनिएको थियो। उक्त सहमतिमा राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतकहरूले हस्ताक्षर गरेका थिए।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले उच्चस्तरीय छानबिन आयोग गठनको माग गरी एक महिना संसद अवरुद्ध गरेपछि दलहरूबीच उक्त सहमति भएको थियो।