काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा दश लाख ५२ हजार ५५ सवारीसाधन कारबाहीमा परेका छन् । नेपाल प्रहरीका अनुसार २०८० साउनदेखि पुस मसान्तसम्मको अवधिमा ती सवारीसाधनमाथि कारबाही भएको हो ।
उक्त ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ रूपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ । राजस्वमध्ये काठमाडौं उपत्यकाबाट ३२ करोड ३३ लाख ७० हजार रुपैयाँ, कोसीबाट सात करोड ८७ लाख दुई हजार ९४३ रुपैयाँ र मधेस प्रदेशबाट १० करोड ५ लाख ५८ हजार ९०१ रुपैयाँ संकलन भएको थियो ।
उपत्यकाबाहेक वाग्मती प्रदेशबाट सात करोड ८८ लाख ४० हजार रुपैयाँ, गण्डकीबाट आठ करोड १८ लाख ७६ हजार ६ रुपैयाँ, लुम्बिनी प्रदेशबाट नौ करोड ३८ लाख ६४ हजार दुई रुपैयाँ, कर्णाली प्रदेशबाट एक करोड ५६ लाख ४५ हजार रुपैयाँ र सुदूरपश्चिमबाट दुई करोड ४२ लाख ८८ हजार रूपैयाँ राजस्व संकलन भएको छ ।
यसैगरी ट्रक/ट्यांकरबाट १५ करोड १९ लाख ९५ हजार ४०० रुपैयाँ, बस/मिनिबसबाट नौ करोड २० लाख ५०० रुपैयाँ, कार/जिप/भ्यानबाट १८ करोड ९० लाख ७६ हजार ८०६ रुपैयाँ, ट्याक्टरबाट २ करोड ८८ लाख १६ हजार रुपैयाँ, मोटरसाइकलबाट ३१ करोड १७ लाख ३४ हजार ५४६ रुपैयाँ र टेम्पो तथा अन्यबाट २ करोड ५३ लाख २१ हजार ६०० रूपैयाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।
राजस्व संकलन रकममध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा र सबैभन्दा कम कर्णाली प्रदेशमा भएको छ ।
मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएभन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमतिपत्र नभएका लगायतका साधनबाट कारबाही गरेबापत उक्त रकम राजस्व संकलन गरिएको हो ।
“प्रहरीले जरिबना मात्र गर्दैन । सकभर कारबाही नहोस् भन्ने चाहन्छ । यसका लागि सचेतना अभियान, सवारी नियम उल्लंघन गर्नेलाई नियमित अनिवार्य कक्षा संचालनलगायत जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम गर्दै आएका छौँ । सुरक्षित र मर्यादित सडकको प्रयोग गर्दै सवारी आवागमनलाई व्यवस्थित गर्न विभिन्न प्रविधिहरूको समेत प्रयोग गर्ने गरिएको छ,” नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले भने ।
उक्त अवधिमा कारबाहीमा परेका दश लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रक/ट्याङकर १ लाख ७० हजार ८४२, बस/मिनिबस एक लाख ९ हजार ३७७ वटा, कार/जिप/भ्यान २ लाख ६१ हजार ६३६ वटा, ट्याक्टर ४१ हजार ६४१ वटा, मोटरसाइकल ४ लाख ३२ हजार ९८ वटा र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटा छन् । कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको तथ्यांकले देखाउँछ ।