काठमाडौं । चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ जना पक्राउ परेका छन् । तीमध्ये ६७ जना पुरूष र २२ जना महिला छन् । सोही अवधिमा जम्मा ७९ मुद्दा दर्ता भएका छन् ।
सो अवधिमा १ सय ४९ जनालाई अभियोग लागेको, देशभरबाट २ सय ३६ जनालाई उद्धार गरिएको छ र उद्धार गरिएकामध्ये १ सय ५० महिला, २६ पुरूष र ६० बालिका रहेको प्रहरीले जनाएको छ ।
नेपाल आन्तरिक र सीमा वारिपारी समेतमा हुने मानव बेचबिखनबाट अति प्रभावित रहेको छ । त्यसमा पनि वैदेशिक रोजगारको लागि नेपालबाट ठूलो संख्यामा भारत, मलेसिया, कतार, साउदी अरेबिया, लिबिया, बहराईन, कुवेत, संयुक्त अरव ईमिरेट्स, अमेरिका तथा विभिन्न युरोपेली र अफ्रिकन देशहरू लगायतका अन्य विभिन्न मुलुकहरूमा समेत नेपालीहरू काम गर्ने वा अवैधानिक बसोवासको प्रलोभनमा परी बेचबिखनमा पर्ने गरेका छन् ।