काठमाडौं । जापानलाई उछिन्दै जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनेको छ । बिहीबार सार्वजनिक तथ्यांकमा जर्मनीले जापानलाई उछिनेको हो ।
गत वर्ष जापानको अर्थतन्त्र १ दशमलव ९ प्रतिशतको दरले बढेको भएपनिे जर्मनीभन्दा पछाडि परेको हो । डलरको हिसाबले जापानको अर्थतन्त्र ४.२ ट्रिलियन डलर छ भने जर्मनीको अर्थतन्त्रको आकार ४.५ ट्रिलियन डलर छ ।
डलरको तुलनामा येनको मूल्यमा आएको गिरावटका कारण जापानको स्थिति कमजोर भएको छ । सन् २०२२ मा जापानको मुद्रा डलरको तुलनामा करिब २० प्रतिशतले घटेको थियो भने गत वर्ष सात प्रतिशतले घटेको थियो । विश्वका धेरै केन्द्रीय बैंकहरूले ब्याजदर बढाए पनि बैंक अफ जापानले भने ऋणात्मक ब्याजदर कायम राखेको छ ।
कुनै बेला जापान अमेरिकालाई उछिन्ने अवस्थामा नजिक पुगेको थियो तर, १९९० को दशकमा यसको अर्थतन्त्र ठप्प भयो । सन् २०१० मा चीन जापानलाई उछिनेर विश्वको दोस्रो ठूलो अर्थतन्त्र बनेको थियो र आज यसको आकार जापानभन्दा करिब चार गुणा ठूलो छ ।
अर्कोतर्फ, जर्मनी युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र हो तर, अहिले यसले धेरै मोर्चाहरूमा संघर्ष गरिरहेको छ । यसलाई युरोपको रोग पनि भनिन्छ । जनवरीमा, अर्थमन्त्री क्रिस्चियन लिन्डनरले देशलाई भनेका थिए कि ‘जर्मनी बिरामी छैन तर थोरै थकित छ ।’ उनले देश अहिले न्यून बृद्धिको अवस्थाबाट गुज्रिरहेको बताउँदै जुन वेक अप कल जस्तै भएको भनेका थिए ।