काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महासमिति बैठकमा पेस गर्न तयार पारेको सांगठनिक प्रतिवेदनमा प्रस्ताव गरेका छन्– 'चुनावमा कुनै पनि दलसँग गठबन्धन नगरौँ ।'
तर, पार्टी सभापति शेरबहादुर देउवासहित संस्थापन पक्षलाई थापाको प्रस्ताव चित्त बुझेन । उनीहरूले प्रतिवेदन 'सच्याउन' जोड दिइरहे । अहिलेको सत्ता गठबन्धनका दलहरूलाई बिच्काउन नहुने संस्थापन पक्षको भनाइ थियो । उनीहरूको तर्क थियो, 'भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने विषयमा तत्कालीन परिस्थिति हेरेर त्यतिबेलै निर्णय लिन सकिन्छ ।'
तर, थापा टसमस भएनन् । बरु देउवालाई नै चुनौती दिए– 'यदि, मैले प्रस्तावमा राखेका विषय पार्टी हितविरुद्धमै हुन्छन् भने महासमिति बैठकबाट अस्वीकृत गरिदिनुस्, महासमितिले अस्वीकार गर्छ भने मात्र यो कुरा मलाई स्वीकार्य छ ।'
महामन्त्री थापा आफ्नो निर्णयबाट पछि नहट्ने देखिएपछि सोमबार बेलुकातिर पार्टीका पदाधिकारीहरू र पूर्व पदाधिकारीहरूलाई बूढानीलकण्ठमा बोलाइयो । बैठकको एउटै उद्देश्य थियो– जसरी हुन्छ, थापाको प्रस्ताव 'सच्याउन' लगाउने ।
बैठकको सुरुमै संस्थापन पक्षबाट पार्टीमा सभापति र महामन्त्रीले आआफ्नो धारणा राख्ने र दुवै धारणामा कसको मुख्य हो भनेर केन्द्रीय समिति बैठकमा चुनाव गराउने विषय उठ्यो । ''सभापति देउवाले ल अब जे भयो गगन जी को प्रस्ताव महासमितिमा पेश गरौ भन्नेमा पुग्नुभएको छ, कांग्रेसका एक केन्द्रीय सदस्यले भने, ''सकभर रोक्ने प्रयास विफल भएपछि देउवा महामन्त्री थापाको प्रस्तावमा सहमत हुनु भएको छ।''