काठमाडौँ । न्यायपरिषद्का सदस्य समेत रहेका सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडाले न्यायपरिषद् नियमावलीको संशोधन आवश्यकताका आधारमा भएको बताएका छन् ।
न्याय सेवाबाट उच्च अदालतको न्यायाधीशमा नियुक्त भएकाहरुलाई वरिष्ठता दिनेसम्बन्धी नियमावलीको संशोधन आवश्यकताका आधारमा भएको भन्दै खतिवडाले नियमावली संशोधनको बचाउ गरेका हुन् ।
आइतबार उच्च अदालत पाटनको नवनिर्मित भवनको उद्घाटनपछि सम्बोधन गर्दै न्याय परिषद्का सदस्य खतिवडाले नियमावलीमा संशोधनको आवश्यकता रहेको र संशोधन गर्न ढिलो भइसकेको कारण संशोधन भएको बताएका हुन् ।
वरिष्ठतम् न्यायाधीश खतिवडाले भने, ‘न्यायपरिषद् नियमावलीको संशोधनसम्बन्धी उठेका प्रश्नहरुको जवाफ छ, संशोधनको उचित र पर्याप्त कारण छ । नियमावलीमा संशोधन गर्नैपर्ने आवश्यकता भएकाले गरेको हो । त्यो गर्न ढिलो भइसकेको थियो, त्यसकारण जसले गरेपनि गर्नुपर्थ्यो र हामीले गर्यौँ ।’