चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ बजे नारायणी नदी किनारमा शुभारम्भ गर्ने छन् ।
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालका अनुसार कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसहित विशिष्टि व्यक्तित्व उपस्थिति हुनेछन् । यसैगरी चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछाने, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवाललगायतको उपस्थिति हुने दाहालले जानकारी दिए ।
भरतपुरको पर्यटकीय महत्वलाई स्वदेश र विदेशमा पुर्याउने लक्ष्यका साथ भ्रमण वर्षको आयोजना गर्न लागिएको हो । उपप्रमुख चित्रसेन अधिकारीका अनुसार भ्रमण वर्षमा आन्तरिक पाँच लाख पर्यटक र बाह्य दुई लाख पर्यटकले भरतपुर महानगरको भ्रमण गर्ने लक्ष्य राखिएको छ । सोहीअनुसार देश तथा विदेशमा समेत प्रचारप्रसारको काम गरिएको छ ।
औपचारिक कार्यक्रमअघि र पछि राष्ट्रिय र स्थानीय कलाकारले नदी किनारमा साँझसम्म प्रस्तुति प्रस्तुत गर्नेछन् । भरतपुर महानगरभित्र सात मुख्य गन्तव्य तोकिएका छन् । यसका अतिरिक्त २१ गन्तव्यको समेत प्रचारप्रसार गरिएको छ । मुख्य गन्तव्यलाई ब्लक बनाएर अन्य गन्तव्यको प्रचार गरिएको उपप्रमुख अधिकारीले जानकारी दिए।