काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन ३० गतेभित्रै विश्वासको मत लिने तयारी गरेका छन् । यसबारे प्रधानमन्त्री प्रचण्डले शनिबार दिउँसो बसेको पार्टीको संसदीय दलको बैठकमा छलफल गरेका छन् ।
बैठकमा सहभागी एक सांसदका अनुसार, फागुन ३० भित्रै संसद्बाट प्रधानमन्त्रीले विश्वासको मत लिनेगरी मोटामोटी छलफल भएको छ । सोही अनुसार सांसदहरूलाई केही दिन उपत्यका छाडेर नजान ह्वीप जारी गरिएको हो ।
संसदको आगामी बैठक फागुन ३० गतेका लागि बोलाइएको छ। यद्यपि, घटनाक्रम अनुसार प्रधानमन्त्रीले त्यसअघि नै आवश्यक ठानेको खण्डमा २७/२८ गते नै विश्वासको मत लिनसक्नेबारे पनि प्रधानमन्त्रीले आजको बैठकमा ब्रिफिङ गरेका थिए ।
पार्टीका प्रमुख सचेक समेत रहेका सांसद हितराज पाण्डेले राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र प्रधानमन्त्रीले विश्वासको मत लिनुअघिसम्म सांसदहरूलाई ह्वीप लगाइएको छ ।
‘विश्वासको मत लिने बेलामा प्रतिनिधिसभाका सदस्यलाई उपस्थिति हुन ह्वीप वा निर्देशन जारी भएको छ,’ पाण्डेले भने, ‘अध्यक्ष/उपाध्यक्षको निर्वाचनमा पनि सोही अनुसार उपस्थित हुन ह्वीप जारी गरिएको छ ।’