काठमाडौं । वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सुनको सिक्री नपाउँदा बिहे नै रद्द गरेको घटना सार्वजनिक भएको छ ।
बाराको कलैया उपमहानगरपालिका ४ घर भएका अपरेटर साहले दाइजोमा नगद १२ लाख, मोटरसाइकल खरिद गर्न ३ लाख २५ हजार, एक थान ल्यापटप, एक थान सुनको अंगुठी र सुनको हनुमानी माला बिहेअघि नै बेहुली पक्षसँग दाइजोको रूपमा लिएको बेहुली पक्षले बताएका छन् ।
पर्सा प्रहरी प्रवक्ता डिएसपी कुमार बिक्रम थापाले घटनाको पुष्टि गरेका छन्। प्रहरी चौकी श्रीपुरले उक्त घटनामा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
साेमबार राति जन्तीसहित बिहे गर्न वीरगञ्ज रानीघाट गएका अपरेटर साहले विवाह मण्डपमा बेहुली पक्षबाट सुनको सिक्री नपाउँदा बिहे नै रद्ध गरेको घटना सार्वजनिक भएको हो। बाराको कलैया उपमहानगरपालिका-४ का बच्चलाल साहका छोरा वर्ष २६ का उमेश साहको वीरगञ्ज- २४ रानीघाटका एक जना उनकै स्वजातिको छोरीसँग फागुनमा २८ गते जन्ती लागेर बिहे हुने निश्चित भएको थियो।
सोहीअनुसार साेमबार साँझ बेहुली पक्षका आफन्तहरु उनको घर अगाडि जन्तीको स्वागतको लागि जम्मा भएका थिए। निर्धारित समयमा सोमबार राती बेहुलासहित जन्ती आयो । द्वार पूजापछि स्वयंवर बरमालाको परम्परा पनि पूरा भएको थियो। उक्त विधि पश्चात विवाहको विधि पूरा गर्नका लागि विवाह मण्डपमा पुग्दा बेहुलाले विभिन्न बहाना बनाउँदै सुनको सिक्री नपाएपछि विवाह नै बहिष्कार गरेका हुन् ।
द्वार पूजा बरमाला भइसक्दा पनि मात्र ५० हजारको सिक्री नपाउँदा बेहुला विवाह मण्डपबाट भाग्न खोज्दा झडपसमेत भएको प्रहरीले जनाएको छ । बेहुली पक्षले जति सम्झाउँदा पनि बेहुला बिहे गर्न नमानेपछि कुटपिट सुरु भएको थियो ।