काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय सिगरेट (भेप)मार्फत गरिएको नौ किलो सुन तस्करी प्रकरणमा जोडिएका महरा सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका हुन् ।
भेप ल्याउने चिनियाँ समूहसँग महराको निरन्तर फोन सम्पर्क देखिएको थियो । सो प्रकरणमा सीआईबीको टोलीले गएको भदौ १३ गते उनका छोरा राहुल महरालाई पक्राउ गरेको थियो ।
प्रहरीले उनलाई भैरहवाबाट विमानमार्फत काठमाडौं ल्याएको छ । थप अनुसन्धान गर्न महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा बुझाइएको छ ।
०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत ७३ बट्टामा ल्याएको ७३० थान भेपमा नौ किलो सुन भेटिएको थियो । उक्त भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँचका क्रममा भन्सार कार्यालयले रोकेको थियो । तर, सुन छुटाउन महरा र उनका छोरा राहुलसंलग्न भएका थिए ।
सरकारले असोज १४ गते पूर्वन्यायाधीश डिल्लीराम आचार्यको अध्यक्षतामा आयोग गठन गरेको थियो । गएको बिहीबार आयोगले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनको कार्यान्वयन गर्ने क्रममा महरलाई अनुसन्धान गर्न प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले अन्य थप पाँच जनालाई पक्राउ गर्ने तयारी गरेको छ । भेपबाहेक आयोगले गएको साउन २ गते सवारीसाधनको ब्रेक सुमार्फत हङकङ हुँदै नेपाल भित्र्याइएको ६० किलो सुन तस्करी प्रकरणमा समेत सीआईबीले त्यो बेला मुद्दा नचलाएका पाँच नेपालीलाई पक्राउ गरेर अनुसन्धान गर्न सिफारिस गरेको छ । उनीहरुको नाम भने गोप्य राखिएको छ ।