शुक्रबार, असोज ३० गते २०८३
  • यो साता चर्चामा :
  • गुप्तपानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित चार जना भ्रष्टाचार मुद्दामा दोषी ठहर


    हुलाक प्रेस

    • मंगलबार, चैत ६ २०८००८:४५
    गुप्तपानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित चार जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

    काठमाडौं । कैलालीको चुरे गाउँपालिका–३ को गुप्तपानी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष, सचिव, कोषाध्यक्ष र अडिटर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

    साविकको निगाली गाविस–१ मा पर्ने गुप्तपानी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष मनिराम आचार्य भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन् । उनको सजाय निर्धारणका लागि विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले यही चैत २८ गतेको पेसी तोकेको छ ।

    उपभोक्ता समितिका तत्कालीन सचिव हिक्मतसिंह भाट र कोषाध्यक्ष पृथ्वीराज विष्टको भने सजाय निर्धारण भएको छ । उनीहरूलाई जनही नौ लाख १९ हजार १८६ रुपैयाँ जरिबाना र १५ महिना कैद सजाय हुने फैसला भएको छ । उनीहरूले वन उपभोक्ता समितिको निर्णय एवं कार्ययोजना नै पास नभएको अवस्थामा चेकमा हस्ताक्षर गरेका थिए । चेक सोही उपभोक्ता समितिका अध्यक्ष मनिराम आचार्यलाई दिने एवं औचित्य एवं बिनाबिल भरपाई रकम खाईमासी गर्ने कार्यमा सहयोग गरेको भन्दै अख्तियारले उनीहरूबाट जनही १८ लाख ३८ हजार ३७२ रुपैयाँ ११ पैसा विगो कायम गरेको थियो ।

    विशेष अदालतले विगोसहित उनीहरूलाई त्यति नै जरिबानासहित कैद सजाय निर्धारण गरेको हो । यस्तै, उपभोक्ता समितिमा अडिटरको भूमिका निर्वाह गरेका गौरीप्रसाद नाथलालाई तीन महिना कैद र १० हजार जरिबाना सजाय निर्धारण गरेको छ । अख्तियारले उनीविरुद्ध सरकारी अडिटको जिम्मेवारी दुरुपयोग गरेको भन्दै एक वर्षसम्म कैद सजायको माग दाबी गरेको थियो ।


    प्रतिक्रिया दिनुहोस