काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई दश वर्षको सजाय तोकिए पनि १४ वर्ष जेलमा बस्नुपरेको बताएको छन् । उनले बुधबार काठमाडौं जिल्ला कमिटीको कार्यक्रममा पञ्चायतकालमा आफूलाई झुटो मुद्दामा दश वर्षको सजाय सुनाइए पनि नछाडे पछि १४ वर्ष बस्नु परेको बताए ।
“मैले जिन्दगीमा भूमिगत बसेर काम गरेको छु । पिटाइ खाएको छु । दश वर्षको सजाय भनेर तोकेको थियो, जाली मुद्दा लगाएर । तर १४ वर्षसम्म नछोडेर थुन्ने काम भयो,” उनले भने ।
अध्यक्ष ओलीले राजतन्त्र पक्षधरप्रति लक्षित गर्दै अहिले अस्तित्वमा नरहेकाहरू मौका हेरेर बसेको टिप्पणी गरे । पालो आयो कि क्या हो भन्ने भ्रममा उनीहरू रहेको उनको भनाइ छ ।
“यो भ्रम हो । यसलाई भ्रममै सीमित राख्नुपर्छ । कुनै अलमलमा पर्नु हुँदैन,” ओलीले भने ।