काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्व सभामुख कृष्ण बहादुर महरालाई अस्वस्थताको कारण देखाउँदै हाजिर जमानीमा रिहा गरेको छ । महरालाई छाडनुअघि सीआईबीले सरकारी वकिलसँग सहमति लिएको थियो ।
फौजदारी कार्यविधि संहिता–२०७४ को दफा १५ अनुसार कसुरको गाम्भिर्यता हेरेर अनुसन्धान अधिकृतले हाजिर जमानी, धरौटी वा तारेखमा राख्नसक्ने व्यवस्था छ । तर, अनुसन्धान अधिकृतले छाड्नुअघि सरकारी वकिलको सहमति लिनुपर्छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले महरालाई छाड्न सहमति दिएका हुन् ।
महरालाई छाड्दा सीआईबीले ५ वटा आधार लिएको छ । म्याद थप गर्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद खनालले उनलाई अस्पतालमा राख्न अनुमति दिएका थिए । पक्राउ परेपछि नर्भिक अस्पतालमा भर्ना भएका उनलाई बिमारको कारण हिरासत मुक्त गर्नुपर्ने अवस्था आएको सीआईबीको निष्कर्ष छ ।