काठमाडौं । भद्रकालीमा ‘भिक्षुलाई लात्ती हान्ने’ प्रहरीमाथि नेपाल प्रहरीको प्रधान कार्यालयले विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ ।
प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै भद्रकालीमा हिँडिरहेका एक ‘भिक्षुमाथि लात्ती हान्ने’ ती प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।
भिक्षुलाई बर्दीमा रहेका एक प्रहरीले लात्तीले हानेको भिडियो सामाजिक सञ्जालमा यतिबेला भाइरल छ । सामाजिक सञ्जालमा उक्त भिडियो छाएसँगै घटनाबारे चौतर्फी टिकाटिप्पणी भइरहेका छन् ।
के थियो घटना?
गत शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले राजधानी काठमाडौंमा प्रदर्शन गरेको थियो । बागबजार, पुतलीसडक, भद्रकाली र सिंहदरबार क्षेत्रमा बाक्लो संख्यामा प्रहरी तैनाथ थिए । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो ।
सोही क्रममा बाटोमा यात्रा गरिरहेका दुई जना भिक्षुमाथि पनि प्रहरीले प्रहार गरे । बाटोमा हिँडिरहेका उनीहरूलाई प्रहरीले लात्ती हानेको सोही भिडियो समाजिक सञ्जालमार्फत भाइरल भएर चौतर्फी विरोध भएपछि प्रहरीले विभागीय कारबाही प्रक्रिया अघि बढेको सूचना निकालेको हो ।