काठमाडौं । सर्वोच्च अदालतमा गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा सर्वोच्चले आजलाई पेसी तोकिएको छ ।
आज प्रारम्भिक सुनुवाइपछि अन्तरिम आदेश भएमा मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको गण्डकी सरकार ढल्नेछ । अन्तरिम आदेश नभएमा भने अन्तिम आदेश नहुँदासम्म गण्डकीमा नेकपा (एमाले) संसदीय दलका नेता अधिकारी नेतृत्वको सरकार कायम रहनेछ ।
सभामुखसहितको हस्ताक्षरमा बहुमत देखाएर अधिकारी सोमबार मुख्यमन्त्री बनेका हुन् । गण्डकी प्रदेशका सभामुखको हस्ताक्षरसहितको दाबी सदर नगर्न भन्दै पाण्डेले प्रदेश प्रमुखको ध्यानाकर्षण समेत गराएका थिए । तर, अधिकारी मुख्यमन्त्री नियुक्त भएपछि पाण्डे सरकार गठनको प्रक्रियामा प्रश्न उठाउँदै मंगलबार सर्वोच्च पुगेका हुन् ।