काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ ।
यसअघि अघिल्लो सोमबार उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले किशोरीले दोस्रोपटक जन्मदर्ता बनाउँदा गाउँपालिकामा दिएको निवेदन माग्न आदेश दिएको थियो ।
सुरुको जन्मदर्तामा भन्दा पछिल्लो जन्मदर्तामा एक वर्ष उमेर घटाइएको जिल्ला अदालत काठमाडौँले पनि ठहर गरेको छ। सोही आधारमा जिल्ला अदालतले जाहेरवाली युवती नाबालिग नरहेको ठहर गरेको थियो ।
जाहेरवालाका तर्फबाट सरकारी वकिल कार्यालयले उनी नाबालिग नै रहेको दाबी गर्दै उच्च अदालतमा निवेदन दिएपछि अदालतले जन्मदर्ता गराउँदा दिएको निवेदन नै झिकाउने आदेश गरेको हो ।
जिल्ला अदालतले यो मुद्दामा सन्दीप लामिछानेलाई ८ वर्ष कैदको फैसला गरेपछि त्यो फैसला बदरको माग गर्दै लामिछाने उच्च अदालत पुगेका हुन् । दुवै निवेदनमा उच्च अदालतले एकसाथ सुनुवाइ अगाडि बढाएको हो ।